हेटौंडा – हरिबोधिनी एकादशीलाई यस वर्षको चाडपर्वहरुको खाता बन्द भएको बिगुलका रुपमा लिने गरिन्छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तीलाई आजबाट बाल्न बन्द गरिने चलन पनि छ ।
हरिबोधिनी एकादशी वर्षमा पर्ने २४ वटा एकादशीमध्ये सबभन्दा ठूलो एवम् महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दुधर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वका रुपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु आजका दिन उठ्नुहुने पुराणमा उल्लेख गरिएको छ । यसकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।
भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ । यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् ।
वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदसमेत महत्वपूर्ण भूमिका लिएको तुलसीको बिरुवाको महत्व ठूलो छ । धार्मिक र सा“स्कृतिक अनि वैज्ञानिकरुपमा पनि अतिउपयोगी यस वनस्पतिलाई आ“गनमा तुलसाको मठ बनाएर रोप्ने चलन छ ।
यसरी औपचारिक रुपमा हरिशयनी एकादशीमा रोपिएको तुलसीको बिरुवा हरिबोधिनी एकादशी सम्ममा धेरै ठूलो भइसकेको हुन्छ । आजको दिन विधिपूर्वक जप, होम गरेर तुलसीको होम लगाइन्छ भने यसरी आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई आज पिपलसंग विवाह गरिदिने परम्परा पनि छ ।
तुलसीको मठको चारैतर्फ बा“सको लिंगो गाडेर अनि रगंरोगन गरेर श्रृंगारिन्छ । यसरी होम लगाउ“दा रुद्रि पुजा पनि गरिने चलन छ । अब त खेतमा धानका बाला पनि लहलहाउन थालिसके, नया“ धानको चामल कुटेर त्यसमा दही, सक्खर आदि मिसाएर न्वागी चढाउने र प्रसादका रुपमा ग्रहण गर्ने चलन पनि छ । यस अर्थमा आजको दिन यस वर्षको नया“ अन्नको औपचारिक प्रयोग गर्ने दिन पनि हो ।
तुलसी विवाह विधि र विशेषता
कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूलीएकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध यस दिन विशेषगरि विष्णु भगवान्को पूजनसहित तुलसी विवाहको उत्सव मनाइन्छ । सनातन धर्मअनुसार आषाढ शुल्क एकादशीदेखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निद्राबाट उठेको यस पवित्र दिनमा भगवान् विष्णुले सबभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यस प्रार्थनाका प्रभावले निद्राबाट उठ्नु भएको यसदिन तुलसीको विवाह विष्णु भगवान्स“ग भएको थियो, शालिग्राम वा पिपलस“ग तुलसीको विवाह भगवान् विष्णु र लक्ष्मीजीको विवाहको प्रतीकात्मक विवाह हो ।
यस दिन विहान सूर्योदयभन्दा पहिले उठेर स्नान गर्ने र विष्णु भगवान्को पूजनसहित तुलसी विवाह गरी व्रत बस्ने परम्परा छ । तुलसी विवाहका लागि तुलसीको मठ वा गमलामा गेरु वा रंग आदिले रंग–रोगन गरी सजाएर चारैतिरबाट उखु, साल, बा“स या निगालोलो मण्डप बनाएर त्यसमाथि फूल तथा कपडाले सजाएर तुलसीलाई वस्त्र तथा सौभाग्य लगाएर शृंगार गर्नुपर्दछ । दियो, कलश, गणेशसहित सबै देवीदेवताको र शालिग्रामको श्रद्धा एवम् भक्तिपूर्वक पूजन गर्नुपर्दछ र आजकै दिनबाट नया“ धान कुटेर चामलको न्वागी भगवान्लाई अर्पण गरी प्रसादस्वरुप न्वागी खाने प्रचलन पनि छ ।
पुजा गर्दा केके चाहिन्छ ?
पूजन गर्दा ॐ तुलसी दामोद–राभ्यां नमः भन्दै पाद्य जल, अर्घ, आचमनी, दूध, दही, घ्यु, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराइ तुलसी तथा शालिग्राममा आफ्नो गच्छेअनुसार श्रद्धा एवम् भक्तिले चन्दन, सिन्दुर, टीका, वस्त्र, सौभाग्य चढाउनु पर्दछ र जौ, तिल, फूल, मालासहित सम्पूर्ण उपचारले पुजा गर्दै धुप, दीप, नैवेद्य, ऋतुफल, कन्दमुल, पान, सुपारी आदिद्वारागरिएको पुजाबाट मनोवाञ्छित फल प्राप्त हुने शास्त्रक्त कथन छ ।
त्यसपछि पहेंलो फुल हातमा लिइ प्रार्थना गर्दै पुष्पाञ्जली गर्नुपर्दछ र एउटा नरिवल, दक्षिणासहित भगवान् शालिग्राम हातमा लिएर तुलसीको सात पटक परिक्रमा गर्नुपर्दछ । आरती गरी तुलसी विवाह उत्सव पूर्ण गरिन्छ र यस दिन विष्णु भगवान्को भजनकीर्तन गरी रातभर जाग्रम बस्ने चलन पनि छ । यसरी गरिएको पुजा एवम् आराधनाबाट सुख, समृद्धि र सबै प्रकारका मनोकामना प्राप्ति हुने धार्मिक विश्वास छ । आज हेटौंडानजिक त्रिखण्डी मन्दिरमा मेला लाग्ने गर्दछ ।