प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुबई पठाई दिन्छु भन्दै रकम ठगी, हेटौंडाकी एक महिला सहित दुई जना पक्राउ

२०८० पौष ५, बिहीबार ०८:१८ बजे

हेटौंडा – देशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ घर भएकी ३३ वर्षीया चमेली चुहान र काठमाडौं तार्केश्वर नगरपालिका–५ बस्नेहरू चितवन रत्ननगर नगरपालिका–१६ घर भएका ४० वर्षीय नविन खड्का रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले १ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नविनलाई काठमाडौं नयाँबानेश्वरबाट र चुहानलाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।