प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राप्तीखोलामा बाढीमा फसेका ४ जनाको सकुशल उद्दार

२०८१ भाद्र २०, बिहीबार ०८:२२ बजे


हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका ४ जनालाई राप्तीखोलाको भलबाढीबाट बुधबार राति साँढे नौ बजे सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय प्रहरीचौकीका सुरक्षाकर्मी, जनप्रतिनिधि, स्थानीयबासीले उद्दार गरेका हुन् ।

दिउँसो घाम लागिरहेको अवस्थामा ३ जना महिला र एक जना पुरुष राप्तीखोलाको बीचबगरको काँसघारीमा घाँस काट्न गएका थिए । अपरान्ह ४ बजेदेखि परेको पानीले राप्तीमा बाढी आएर बीचबगरमा उनीहरु अलपत्र परेको मनहरी गाउँपालिका–५ का वडाअध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए । मध्यान्हमा घाम लागेको थियो र स्थानीय पार्वती आचार्य, सुमिना आचार्य, रोशनी सापकोटा, राजकुमार सापकोटा घाँस काट्न खोलाको बगरमा गएको वडाअध्यक्ष अधिकारीले जानकारी दिए ।

घाँस काटिरहेको समयमा खोलामा अचानक बाढी आएको र चारैतिरबाट बाढीले घेरिएपछि उनीहरु अलपत्र परेका थिए । राप्तीमा साँझपख आएको बाढीले मनहरी गाउँपालिका–५ का वडासदस्य काजीमान स्याङतानको ट्याक्टर बगाएको वडाअध्यक्ष अधिकारीले बताए । किसानको बारीमा फलेको काँक्रो टिपेर हेटौंडा बजारमा बिक्री गर्न ल्याउँदै गरेको ६५ बोरा काँक्रो पनि राप्ती खोलाले बगाएको वडाअध्यक्ष अधिकारीले जानकारी दिए ।

राप्तीखोलामा आएको बाढीका कारण बगरको बीच भागमा अलपत्र परेका स्थानीयलाई चितवनको भण्डारा, हेटौंडाको १४ नं. गणका सशस्त्र प्रहरी, सुनाचुरी र सुपारेटार ब्यारेकका नेपाली सेना, नेवारपानी र मनहरी प्रहरीचौकीका प्रहरी र स्थानीयले अढाई घण्टाको प्रयासपछि सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।