हेटौंडा – दुईतर्फी आवागमन बन्द गरी कान्तिलोकपथको मर्मत सम्भार गरिने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा सोमबार बसेको बैठकले यही फागुन १८ गतेदेखि चैत १० गतेसम्म मर्मतका लागि कान्तिलोकपथ पूर्ण रूपले बन्द गर्ने निर्णय गरेको हो ।
हेटौडा–काठमाडौं चल्ने साना सवारी साधनका व्यवसायीहरूले फागुन १८ गतेदेखि हेटौडाबाट काठमाडौं जान हेटौडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय मकवापनुरले जनाएको छ । त्यस्तै काठमाडौंबाट हेटौडा आउन थानकोट–चित्लाङ–मार्खु (कुलेखानी)–भीमफेदी रूट हुँदै एकतर्फी सेवा सञ्चालन गर्नुपर्ने जनाएको छ ।
यसअघि वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्ट्टेलको अध्यक्षतामा बसेको बैठकले हेटौँडा–भीमफेदी–फाखेल–काठमाण्डौँ सडक मर्मतका लागि फागुन १ गतेदेखि दुई महिनाका लागि बन्द गरिएको थियो । त्यतिबेला हेटौैँडाबाट काठमाण्डौँ जाँदा कुलेखानी–चित्लाङ सडक तथा फर्कदा कान्तिलोकपथ सडक प्रयोग गर्ने निर्णय भएको थियो ।