हेटौंडा – मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविमा टिचर्स क्लिनिक संचालन गरिएको छ । शिक्षकले कक्षाकोठामा बालबालिकालाई सहजीकरण गर्ने क्रममा आइपरेका अप्ठ्यारा परिस्थिति र बालबालिकालाई बुझाउन कठिन भएको बिषयमा छलफल गरी समस्या समाधान गर्न टिचर्स क्लिनिक संचालन गरिएको हो ।
विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालको सहकार्यमा टिचर्स क्लिनिक आयोजना गरिएको हो । पशुपतिनाथ मावि र चेपाङ प्राविका शिक्षक सहभागी कार्यशालामा हेल्पकोडका कार्यक्रम संयोजक मिनप्रसाद रिजालले सहजीकरण गरेका थिए ।
आगामी दिनमा टिचर्स क्लिनिक हरेक महिनामा कम्तिमा एकपटक आयोजना गर्ने निर्णय भएको बताइएको छ । टिचर्स क्लिनिकमा पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्य, चेपाङ प्राविका प्रधानाध्यापक राजेन्द्र न्यौपानेलगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।