हेटौंडा – सरकारले सबै पालिकामा औद्योगिक ग्राम निर्माण गर्ने महत्वकांक्षी कार्यक्रम सार्बजनिक गरेपनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । मकवानपुरको हेटौंडा नगरपछिको दोस्रो ठूलो ब्यापारिक नाका मनहरीमा औद्योगिक ग्राम निर्माणका लागि पालिकाले हालैमात्र चारकिल्ला निर्धारण गरेको छ ।
बागमती प्रदेश सरकार, उद्योग, वन तथा वातावरण मन्त्रालयको लगानीमा निर्माण गर्न लागिएको औद्योगिक ग्रामका लागि पालिकाले मनहरी–६ जोगिताल खयरघारी क्षेत्रको जग्गाको चारकिल्ला निर्धारण गरेको हो । चितवनको सीमानामा पर्ने लोथरखोला र राप्तीखोलाको दोभानमा रहेको बगरक्षेत्रमा औद्योगिक ग्राम निर्माण गर्ने गाउँपालिकाले निर्णय गरेको हो ।
पूर्बमा लामिदमार सामुदायिक वन, पश्चिममा लोथरखोला, उत्तरमा सरकारी जग्गा, दक्षिणमा राप्तीखोलाको बीचको करिब एक सय बिगाहा क्षेत्रफलमा औद्योगिक ग्राम निर्माण गर्न दिने निर्णय भएको गाउँपालिकाको अध्यक्ष रञ्जन कालाखेतीले बताए ।