हेटौंडा – मकवानपुरगढी गाउँपालिकाको १० औँ गाउँसभा सम्पन्न भएको छ । शुक्रबार मकवानपुरगढी गाउँपालिका वडा नं.८ बुढीचौरको सभाहलमा पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाअध्यक्षतामा भएको सभामा पालिका उपाध्यक्ष मानकुमारी नेपाली(पाख्रिन)ले संसोधन सहितको विनियोजन विद्ययक र आर्थिक विद्ययक प्रस्तुत गरिन् । सभाले उक्त विद्ययक बहुमतले पारित गरेको छ ।
पालिकाकी उपाध्यक्ष नेपालीले ८४ वटा योजनाबाट ४ करोड २६ लाख ३६ हजार बजेट घटाएर छुटेका ८ वटामा योजनामा १ करोड २६ लाख बजेट रकमान्तर गरिएको जानकारी दिइन् । प्रतिलिटर दुग्ध उत्पादनमा ६० लाख, सामाजिक सुरक्षाभत्तामा ४ लाख, अनुगमन तथा मुल्याङ्कनमा ४ लाख, सार्वजनिक सुनुवाई कार्यक्रममा ३ लाख, कार्यलय व्यवस्थापनमा १० लाख, नगरप्रहरी नियुक्तीमा ३० लाख र सेवा परामर्शमा १० लाख बजेट रकमान्तर गरिएको उनले जानकारी दिईन् ।
बजेट कटौती गरे अनुसार रकमान्तर कम हुँदा मकवानपुरगढी गाउँपालिकाको बजेट ३ करोड ३६ हजार घटेको छ । यसअघि पालिकाले ७२ करोड ८२ लाख २ हजार ४६९ रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
पालिका उपाध्यक्ष नेपाली प्रस्तुत गरेको आयव्यय बिवरण अनुसार पालिकाले चालु आर्थिक बर्षमा ४३ दशमलव ३ प्रतिशत अर्थात ३१ करोड ५३ लाख ६१ हजार वास्तविक आय भएको छ । चालु आर्थिक बर्षको वितेको ६ महिनामा १८ करोड ३५ लाख ४ हजार खर्च अर्थात २५ दशमलव १८ प्रतिशत वित्तिय प्रगति हासिल भएको उनले जानकारी दिईन् ।
सभाले करारका कर्मचारीहरुको म्याद थप गर्ने, जिन्सी समान लिलाम, द्दुल्याउने र मिन्हा गर्ने, तलबी प्रतिवेदन स्वीकृती, आय व्यय विवरण समर्थन, आर्थिक र प्रशासनिक निर्णय अनुमोदन नियमावी कार्याविधि अनुमोदन गर्ने प्रस्ताव सभाले पास गरेको छ । सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, ८ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, कर्मचारीहरु र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।