प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल युएईसंग पराजित

२०७९ कार्तिक २८, सोमबार ११:१८ बजे

काठमाडौं – युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले हार व्यहोरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई युएईले ८४ रनले हराएको हो ।

युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेलेपनि नेपालले लक्ष्य पूरा गर्न सकेन ।

एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु खेलाडी अर्जुनले ५१ र दीपेन्द्रले ५४ रनको इनिङ खेले । त्यस्तै गुलशन झा १९ रन, ललित राजवंशीले अविजित ६ रन नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन, कुशल भुर्तेल ६,सोमपाल कामी ३, करण केसी ३ तथा ज्ञानेन्द्र मल्ल सुन्य रनमा आउट भए ।

युएईका आयन अफ्जल खानले ४ विकेट लिए । त्यस्तै बसिल हामिदले २ तथा जाहोर खान,रोहन मुस्तफा र अहमेद राजाले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो । युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मुहमद वासिमले ४४ रन, भ्रित्य अरभिन्दले ४० रन, एलिशन शाराफुले २९ रन, आयन हफ्जल खानले २६ रन जोड्दा आउट भए भने अहमेद राजाले अविजित २७ रन बनाए ।

नेपालका गुलशन झाले २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १र१ विकेट लिए । यस जितसँगै युएईले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ ।