हेटौंडा – आज असार १० गते । संविधानतः ७५३ वटा स्थानीय तहहरुले नै असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ । सोही व्यवस्था बमोजिम आज स्थानीय सरकारहरुले बजेट ल्याउँदैछन् । तर राजनीतिक खिचातानीका कारण हेटौंडा उपमहानगरपालिकाले कानुनले तोकेको समय असार १० गतेभित्र बजेट पेस गर्न सकेन ।
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेपछि नगरसभा १२ गते आइतबार १ बजेका लागिका सारिएको छ । हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा शुक्रबार बिहान १० बजे हुने भनिएको हेटौंडा उपमहानगरको नगरसभा तथा ११ औँ अधिवेशन एमाले र गठबन्धनका जनप्रतिनिधिहरुबिच विवाद हुँदा स्थगित भएको हो । एमालेका जनप्रतिनिधिहरुले आफुहरुसंग कुनैपनि छलफलनै नगरिकन एकलौटी ढंगले बजेट ल्याउन लागेको भन्दै नगरसभा बहिष्कार गरेका हुन् ।
एमालेका कार्यपालिका सदस्यहरू नगरसभा हलभित्र उपस्थित नै भएपछि जिल्लाका शिर्ष नेताहरुबिच छलफल भएको थियो । छफलफबाट पनि विवाद समाधान हुन नसकेन । नगरसभा सञ्चालन कार्यविधिअनुसार नगरसभा सञ्चालनका लागि ४८ जना सदस्यको उपस्थित अनिवार्य हुन्छ । उपमहानगरको नगरसभा कुल ९५ सदस्यमध्ये ४० जनाले उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्दा बाँकी सदस्यहरु सभाहल बाहिर बसेर बहिष्कार गरेका थिए ।
यसअघि नीति तथा कार्यक्रम सम्बन्धी छलफल कार्यपालिका बैठकमा एमालेले कार्यपालिका बैठक संचालन कार्यविधिको दफा १५(२) र १५ (३) को बुँदा संशोधनका लागि प्रस्ताव गरेको थियो । उक्त संशोधन प्रस्तावले आफ्नो अधिकार कटौती गरेको भन्दै मेयर मिना कुमारी लामासहित अरूले असहमति जनाएका थिए। गठबन्धनका जनप्रतिनिधिहरुले असहमति जनाएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बैठक नै बहिस्कार गरेका थिए ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ७१ मा बजेट, नीति तथा कार्यक्रम कार्यपालिका बैठकबाट पारित गरेर मात्र नगर सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर मेयर लामाले बहुमत सदस्य रहेको एमालेका जनप्रतिनिधि बिनानै आगामी आर्थिक २०७९र८० को नीति तथा कार्यक्रम बजेट कार्यपालिकाबाट पारित गर्ने निर्णय गरेकी थिइन् ।
उपमहानगरका २९ जना कार्यपालिका सदस्यमध्ये १७ जना एमालेका रहेका छन् । नेपाली कांग्रेसको ९, नेकपा एसको दुई र माओवादी केन्द्रको एक रहेको छ । त्यस्तै ९७ जना नगरसभा सदस्यमध्ये ५१ जना एमालेका छन् भने गठबन्धनका ४६ जना रहेका छन् ।
उनीहरूले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को मर्म र भावनाविपरीत प्रमुख लामाले बजेट ल्याउन खोजेको आरोप लगाएका छन् । हेटौंडा उपमहानगर आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।