प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रदेश खेलकुद: ललितपुर र मकवानपुर फाइनलमा

२०७८ चैत्र ४, शुक्रबार १३:३६ बजे

हेटौंडा – प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलतको फाइनलमा ललितपुर र मकवानपुर प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा धादिङलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै ललितपुर फाइनल प्रवेश गरेको हो ।

निर्धारित समयमा दुई–दुई गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो ।

ललितपुरका लागि प्रज्वल साहीले ६३ औं र बिक्की महर्जनले ७८ औं मिनेटमा गोल गर्दै २–० अग्रता दिलाएका थिए । ललितपुरले दोस्रो हाफमा सुरुवाती अग्रता लिएपनि त्यो जोगाउन सकेन ।

धादिङ्का रवि भण्डारी र बिपिन कडेलले खेलको ८७ औं र अतिरिक्त सयम गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो ।

ट्राइबे्रकरमा ललितपुरका रोहित गिरी, वाङ्देल लामा, आर्यन थापा मगर, अनिल महर्जन, वसन्त तामाङ गोल गर्न सफल भएका थिए । तर, धादिङका विपिन कडेल, मिलन तामाङ र सुरज गुरुङ बाहेक अरुले गोल गर्न सकेनन् ।

त्यसैगरी आज भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मकवानपुरले दोलखालाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

मकवानपुरले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा ३ गोल गरेको थियो । समिराज थोकरले दुई, ललित चौलागाईं, अमिर श्रेष्ठ र अनिस महर्जनले एकएक गोल गरेका थिए । दोलखाका लागि स्वायम श्रेष्ठले एक गोल फर्काएका थिए ।

खेल शुरु भएको सुरुवाती देखिनै दोलखामाथि हावि भएको मकवानपुरको लागि खेलको १४ औँ मिनेटमा समिराज थोकरले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३४ औँ मिनेटमा ललित चौलागाईंले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

दोस्रो हाफमा मकवानपुरे खेलाडीको कमजोरीको फाइदा उठाउँदै दोलखाले एक गोल फर्काएको थियो । दोलखाका लागि स्वायम श्रेष्ठले खेलको ५२ औँ मिनेटमा गरेका थिए ।

एक गोल गर्दै मकवानपुरलाई दवाबमा राख्न खोजे पनि दोलखा खेलमा फर्किन सकेन । खेलको ५५ औ मिनेटमा समिराज थोकरले गर्दै दोलखामाथि पुनः मकवानपुर खेलमा हाबि भयो  ।

खेलको ७९ औँ मिनेटमा अमिर श्रेष्ठको गोलमार्फत टोली ४–१ फराकिलो अन्तर बनाए । खेलको ८८ औँ मिनेटमा अनिस महर्जनले थप एक गोल गर्दै मकवापुरलाई ५–१ गोलको शानदार जित दिलाए ।

मकवानपुरलाई जित दिलाउन उत्कृष्ट खेल प्रर्दशन गरेका अमिर श्रेष्ठ म्यानअफ द म्याच घोषित भए ।

अब फाइनल खेल चैत ६ गते आइतबार हुनेछ ।  प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगितामा पुरुष फुटबलतर्फ प्रदेशका १३ जिल्लाको सहभागिता रहेको छ ।