प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अन्तराष्ट्रिय मकवानपुर गोल्डकप: भोली नै दुई खेल हुने

२०७९ जेठ २१, शनिबार १४:०२ बजे

हेटौंडा – चौथों स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तर्गत भोली (आइतबार) दुई खेल हुने भएको छ । भोली पहिलो खेल फ्रेन्ड्स र एपीएफ क्लबविच हुने छ भने दोस्रो खेल खुमलटार र नेपाल पुलिस क्लबबिच हुनेछ ।

बर्षाको कारण आज (शनिबार)को लागि तय भएको खेल अवरुद्ध भएपछि आइतबार दुई खेल हुने भएको जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले जानकारी दिए । आज (शनिबार) अपराह्न ४ बजेको लागि तय भएको फ्रेन्ड्स र एपीएफ क्लबविचको खेल बर्षाका कारण स्थगित भएको थियो । सार्वजनिक खेल तालिका अनुसार खुमलटार र पुलिसविचको खेल आइतबारको लागि तय भएको थियो ।

दुबै खेल आइतबार हुने भएको हो । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भोलीको पहिलो खेल बिहान साढे ८ र दोस्रो अपराह्न ४ बजेबाट सुरु हुनेछ । आइतबारको खेलमा जित हात पार्ने दुबै टोली प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्नेछ । 

सेमिफाइनल प्रवेशको लागि पहिलो खेलमा जित निकाल्ने टोलीले २३ गते त्रिभुवन आर्मी क्बलसंग भिड्ने छ  । त्यस्तै दोस्रो खेलमा विजयी हुने टोलीले २४ गते मनाङ्ग मस्र्याङ्दी क्लबको सामना गर्नेछ । 

यहि १९ गतेबाट सुरु भएको भएको प्रतियोगिताको दुई वटा खेल सम्पन्न भएको छ । यसअघिको खेलमा जित निकाल्दै नव जनजागृती युवा क्लब र चर्च ब्वाईज युवा क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।

विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कुलअफ म्यानेजम्यान्टले बुलेट बाईक प्रदान गर्नेछ । 

प्रतियोगितामा एडिभिजन, मोफसल र विदेशी सहित १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुने छ ।