हेटौंडा – बि.सं.२०७४ को स्थानीय तह निर्वाचनमा मकवानपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका विदुर हुँमागाई र नेपाली कांग्रेसका दोर्जे लामा स्याङ्तानविच कडाप्रतिस्पर्धा भएको थियो । सन्जोग भन्ने कि विसन्जोग भन्ने बैशाख ३० को स्थानीय तह चुनावमा पनि अध्यक्षमा यि दुई उम्मेदवारको रणसंग्राम हुने भएको छ ।
तर, यसपटक परिस्थिती अलि फरक छ । मकवानपुरगढीमा पनि कांग्रेस पाँचदलिय मेलमिलापमा छ भने एमाले एक्लै । कांग्रेसका स्याङ्तान माओवादी, नेकपा एकिकृत समाजवादी दलको साहारा लिएर पुरानो हारको बदला लिने दाउँमा छन् भने एमालेका उम्मेदवार हुँमागाई गठबन्धन परास्त गर्दै आफ्नै विरासत कायम राख्ने ।
०७४ को निर्वाचन अघि एमालेबाट अध्यक्ष बनेका उम्मेदवार हुँमागाई कृषकसंगै सहकारी ब्यवस्थापकको रुपमा परिचित थिए भने कांग्रेसका स्याङ्तान शिक्षण पेशामा आवद्ध थिए । आफ्नो क्षेत्रमा उदाहरणीय काम गरेर आएका दुईबिचको चुनाबी लडाई रोचक बन्ने अनुमान छ ।
साविक गढी, आमभञ्याङ, सुकौरा र बुढिचौर मिलेर मकवानपुरगढी बनेको हो । हेटौंडा उपहानगरपालिकालाई छुने ४ वटा वडा रहेका छन् भने बाँकी ४ वडा भिमफेदी र बकैंया गाउँपालिकासँग गासिएका छन् । जसमध्ये २,३,४,५ र ६ वडालाई सुगम मानिन्छ भने वडा नं.१, ७ र ८ वडालाई दुर्गम ।
हुँमागाई आफुले सारेका अधुरा अपुरा कामहरु पुरा गर्न र नयाँ कामको थालनी गर्ने बाचाबन्धन सहित चुनावी रणभुमिमा छन् । यता स्याङ्तान पनि आफुले शिक्षण पेशाको अनुभवलाई उतार्ने योजना सहित रणभुमिमा चुनावी युद्ध लड्न तयार छन् ।
त्यस्तै मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा दुबै चिरपरिचित प्रतिद्वन्दी भएपनि उपाध्यक्षमा भने नयाँ अनुसार छन् । एमालेबाट ०७४ को निर्वाचनमा वडासदस्यमा चुनिएकी सन्तु थिङ र गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य मानकुमारी परियार(पाख्रीन) । थिङले पाँच बर्ष वडासदस्यसंगै गाउँपालिकाको न्यायिक समितिको प्रमुख र विभिन्न सामाजिक संघसस्थामा पनि आबद्ध छिन् ।
यता परियार राजनीतिमा राम्रो अवसर पाएपनि जनप्रतिनिधि बन्ने अवसर भने पाइनन् । तैपनि उनि विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक काममा सक्रिए छिन् । उनिहरु नाताले सासु बुहारी हुन् । थिङ परियारको सासु हुन् भने परियार थिङकी बुहारी हुन् । एकैपरिवारका दुई योद्धाको चुनाबी भिड्न्त पनि रोचकै हुने देखिन्छ ।
युद्धको रणभुमिमा लड्न हातहतियार चाहिन्छ भने निर्वाचनको रणभुमिमा प्रख्खर एजेण्डा र जनताको मत चाहिन्छ । चुनावी एजेण्डा लिएर मत माग्न दुबै उम्मेदवारको डाँडाकाडाँदेखि गाउँबेशी दौडधुम ब्यापकै छ ।
हुँमागाईको पाँच बर्षे कार्यकाल सन्तोकजनक नै छ । अधुरा अपुरा काम पुरा गर्न पार्टीले मुल्याङ्कन गरेर उनलाई पुनः अवसर दिएको भन्दा फरक नपर्ला । यता शिक्षण पेशा छाडेर चुनावमा होमिएका स्याङ्तान पहिलो गाँसमै ढुङ्गा परेको थियो । यसपटक उनलाई नेकपा माओवादी र नेकपा एसको साथ छ । आफ्नो सहित माओवादी र एसको मत पाउने हो भने स्याङ्तान बलिया देखिन्छन् । राप्रपाका प्रभावशली नेताको साथ पाएका हुँमागाई पनि पार्टीसंगै मौन मत आफ्नो देखाउदै गठबन्धनलाई बलियो चुनौति दिएका छन् ।
२०७४ को स्थानीय तह चुनावको मतपरिणाम जोड्दा गठबन्धन सहज अवस्था छ तर त्यही भित्रको अन्तरद्वन्द्वबाट मत आफ्नो पक्षमा पारेर चुनाव जित्ने रणनीतिमा एमाले देखिन्छ । एमालेमा उम्मेदवारका विषयलाई लिएर कुनै विवाद छैन तर कांग्रेस भित्र भने असन्तुष्टि छ ।
यसअघि एमालेले अध्यक्ष उपाध्यक्ष दुबै जितेको थियो । त्यतिबेला एमाले, कांग्रेस, माओवादी लगायतका दल एक्ला एक्लै चुनावमा उत्रिएको थियो । एमालेबाट मकवानपुरगढी गाउँपालिका अध्यक्ष बनेका हुमागाईंले ३ हजार ८१४ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका दोर्जे लामा स्याङ्तानले ३ हजार ६५३ प्राप्त गरेका थिए भने माओवादी केन्द्रका भिम पाख्रिनले १ हजार ६३३ मत ल्याएका थिए ।
एमालेबाट उपाध्यक्ष बनेकी हर्कमाया रुम्बाले ३ हजार ७१७ मत प्राप्त गरेकी थिइन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी मन्दिरा केसीले ३ हजार ७०७ मत प्राप्त गरेकी थिइन् । त्यस्तै माओवादीले उपाध्यक्षमा १ हजार ५९९ मत ल्याएको थियो । राप्रपाका खिलप्रसाद चौलागाईं र हीरादेवी हुमागाईंले अध्यक्ष र उपाध्यक्षमा क्रमशः ९५० र ८९८ मत प्राप्त गरेका थिए ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गुमाएपनि कांग्रेसले र एमालेले समान चारचार वडामा जितेको थियो ।