हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा गाउँ कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा गठबन्धनका ५ र स्वतन्त्रबाट एक जना जना उम्मेद्वार निर्वाचित हुँदा एमालेका उम्मेदवार पराजित भएका छन् ।
कार्यपालिकामा नेकपा माओवादी केन्द्रबाट तीन, नेपाली कांग्रेसबाट दुई र स्वतन्त्रबाट एक जना निर्वाचित भएको निर्वाचन अधिकृत कार्यालय बकैयाले जनाएको छ ।
माओवादीबाट महिला सदस्यतर्फ दिपकुमारी विश्वकर्मा, राजकुमारी भोम्जन र दलित तथा अल्पसङख्यकमा लक्ष्मीमाया माझी निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यतर्फ कांग्रेसकी सावित्री सेराली र सरिता माया जिम्बा निर्वाचित भएका छन् भने दलित तथा अल्पसङख्यकमा स्वतन्त्रबाट लोकेन्द्र बहादुर माझी विजयी भएका छन् ।
नेकपा एमालेले कार्यपालिका सदस्यमा महिला चार र दलित तथा अल्पसङख्यकमा दुई जनालाई उम्मेदवार बनाएको थियो । यससंगै बकैया गाउँपालिकाको गाउँ कार्यपालिकाले पुर्णता पाएको छ ।
बकैयाको गाउँ कार्यपालिकामा कुनै पनि पार्टीको एक्कल बहुमत छैन । गाउँसभामा सबैभन्दा ठुलो दल बनेको कांग्रेसले आफ्नो बहुमत पुर्याउन सकेन । २० सदस्यीय कार्यपालिकामा कांग्रेस र माओवादीबाट ८–८, एमालेबाट ३, स्वतन्त्रबाट एक जनाको प्रतिनिधित्व रहनेछ ।
जहाँ बहुमतको लागि कम्तिमा ११ सदस्यको आवश्यकता पर्छ । गठबन्धन दल कांग्रेस र माओवादीको जोड्दा दुई तिहाई नै(१६ जना सदस्य) हुन्छ । बकैयाको ६२ सदस्यीय गाउँसभामा सबैभन्दा बढी नेपाली कांग्रेसको २८ जना, एमालेको २० जना र माओवादीको १४ जना प्रतिनिधि रहेका छन् ।
हालै सम्पन्न स्थानीय चुनावमा गठबन्धनबाट कांग्रेसले गाउँपालिकाको अध्यक्षसहित ५ वडाअध्यक्ष जित्दा माओवादीले उपाध्यक्ष सहित ४ वटा वडा जितेको थियो भने एमालेले तीन वटा जितेको थियो ।