हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले विद्युतको महसुल नतिरेपछि विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले लाइन काटिएको छ । तीन महिनाभन्दा लामो समयदेखि विद्युत बक्यौता बाँकी राखेपछि प्राधिकरणले मकवापनुरगढी गाउँपालिकाको विद्युतको लाइन काटिएको हो ।
मकवानपुरगढी गाउँपालिका कार्यालयमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा पालिकाबाट प्रवाह हुने अधिकांश सेवा अवरुद्ध हुँदै आएको छ । सेवा अवरुद्ध हुँदा तीनदेखिनै सेवाग्राहीहरु खाली हात फर्किनु परेको गुनासो रहेको छ ।
विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले एक सुचना जारी गरी मकवानपुरगढी गाउँपालिकाले १ लाख ९९ हजार ८२६ रुपैयाँ २४ पैसा बक्यौता तिर्न बाँकी देखाएकोले गढी गाउँपालिका सहितका एक सय ग्राहकहरुको लाइन काटिदिएको जनाएको छ ।
यसैबीच गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले बाँकी रहेको बक्यौता रकम भुक्तानी गरिसकेकोले विद्युत सेवा आजैबाट सुचारु हुने दाबी गरेका छन् ।