काठमाडौँ – प्रधानमन्त्री पुष्षकमल दहाल प्रचण्ड ले विश्व मजदुर दिवस (मे १) २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीहरूमा शुभकामना दिएका छन् । सोमबार एक विज्ञत्तिमार्फत श्रम अधिकार सुनिश्चितताको कामना गर्दै उनले सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री दहालले आठ घण्टाको कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदूरहरुले गरेको संघर्षलाई स्मरण गर्दै गर्दै प्रधानमन्त्री दाहाले नेपाललगायत विश्वभरका मजदूरहरुले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएको शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
‘अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस ऐतिहासिक दिनमा म नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गसँग जुझारु ऐक्यवद्धता प्रकट गर्दछु । नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन्, सन्देशमा भनिएको छ,’ ‘किसान र मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको छ ।’
उनले सन्देशमार्फत मई दिवसको अवसर पारेर प्रधानमन्त्रीका रुपमा मैले नेपाली श्रमिक जनसमुदाय खास गरी किसान मजदूरको हक, हित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण समेत गरेका छन् । नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुऱ्याउने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ । यो जिम्मेवारी पूरा गर्न म अनवरतरुपमा लागिरहने प्रण गर्दछु, सेन्देशमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्री दाहालले रास्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तिमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने शुभकामना सन्देशमार्फत जानकारी दिएका छन् । उनले सम्पूर्ण मजदुरहरुको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा शर्त र सुविधा निश्चित र बैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय बनाइने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘अदक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाई मजदुरहरुलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र जिम्मेवार संस्थाहरुले अनिवार्य रुपमा आफ्ना मजदुरहरुलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोशाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको जानकारी गराउँदछु । आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयहरूमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने जानकारी गराउँदछु, ’ शुभकामना सन्देशमा उल्लेख गरेका छन्।