प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

शिक्षकहरूले नै शैक्षिक क्षेत्रको बदनाम गरे: उपमेयर बानियाँ

२०७९ भाद्र ७, मंगलबार १०:२५ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले शिक्षकहरूको समूहले आर्थिक चलखेल गरेर शैक्षिक क्षेत्रलाई बदनाम गरेको बताएका छन् । हेटौँडा ९ स्थित प्रगति माविको अनुगमनको क्रममा उनले यस्तो बताएका हुन् ।

नेपालमा शिक्षकलाई राजनीतिक दृष्टिले हेरिने गरेको भन्दै बानियाँले शिक्षकको नियुक्ति सरुवा आदिमा विभिन्न पार्टीमा आवद्ध शिक्षकहरूको समूहले आर्थिक चलखेल गरेर शैक्षिक क्षेत्रलाई बदनाम गराएको बताए । बानियाँले शिक्षामा परिवर्तन ल्याउने काम शिक्षकबाहेक अरूले नसक्ने भएकाले शिक्षक इमानदार नभएसम्म शिक्षामा सुधार नआउने बताए । शिक्षकको टिमवर्कले नै विद्यालयलाई सुधार गर्न सक्ने उपमेयर बानियाँको भनाइ छ ।

विद्यालयमा पढाउन छाडेर शिक्षकहरू मालपोत कार्यालयमा, साँझ परेपछि भट्टिमा भेटिनु अत्यन्त दुःखद कुरा रहेको भन्दै उनले हेटौंडा उपमहानगपालिका शैक्षिक क्षेत्रमा आमूल परिवर्तनका गर्न लागि परिरहेको बताए ।

आफूले हेटौँडा उपमहानगरपालिकाका विद्यालयहरू अनुगमनको जिम्मेवारी पाएकाले नगरभित्रका ग्रामीण भेगको विद्यालयलाई प्राथमिकताका साथ अनुगमन गरी सुधार गर्ने काममा आफू लागि परिरहेको बताए ।

प्रगति माविमा तीन वर्षे आइटी प्राविधिक शिक्षाका लागि प्रक्रिया अगाडि बढिसकेको बताउँदै उपमेयर बानियाँले हेटौंडा उपमहानगरपालिभित्र सबै प्रकारका प्रविधिक विद्यालय सञ्चालन गर्ने र पढ्नकै लागि भनेर हेटौंडा बाहिर जानुपर्ने अवस्थाबाट मुक्त गर्ने बताए ।

विद्यालयको लागि आवश्यक पर्ने हरेक कुरा पूरा गर्न नगरपालिका तयार रहेको तर गुणस्तरीय शिक्षाका शिक्षकहरूले भने इमानदारीपूर्वक काम गर्नै पर्ने बताए ।

प्रगति माविका लागि शुद्ध खानेपानी, जस्ताको छानो भएका भवनमा फल्स सिलिङ हाल्ने काम पनि तत्काल सुरु गर्न उपमेयर बानियाँले प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई निर्देशन दिए ।

लामो समयसम्म सर्वोच्च अदालतमा मुद्धा चलेर विद्यालयको पक्षमा फैसला आएको २ बिगाहा १० कठ्ठा जग्गाको लालपुर्जा मालपोत कार्यालयबाट उपलब्ध गराउन पनि तत्काल पहल गर्ने उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक निरन्जनप्रसाद ढकालले विद्यालयको वर्तमान अवस्थाका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक ज्योति न्यौपानेले गरेका थिए ।