प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यात्रुलाई पासो थाप्दै कान्तिलोकपथ(तस्बिरसहित )

२०७९ श्रावण २८, शनिबार १४:५९ बजे

हेटौंडा – कान्तिलोकपथ आयोजनाले खाल्डाखुल्डी टाल्न भन्दै तीन महिनाअघि हेटौंडादेखि चुनडाँडासम्म मर्मतको काम शुरु गरेको थियो। सडकमा खाल्डाखुल्डी भएको स्थानमा मर्मत सहज हुने गरि आवश्यकता अनुसार पिच पनि भत्काएको थियो ।

त्यसपछि हेटौंडाको ओमभवनदेखि रानोपोखरासम्म पिज टालटुल पनि गर्यो । तर, सानोपोखरादेखि उता टालटुलको काम रोकियो । तीन महिना वित्यो सडकको खाल्डो टालटुल गर्ने काम जस्ताको जस्तै छ ।

कान्तिलोकपथ आयोजनाले सानोपोखरादेखि चुनडाँडासम्म पिज काटेर बनाएको बेस करिब तीन दर्जन भन्दा बढी छ । समयमै काम नभएपछि सो स्थानमा अहिले दुर्घटना निम्त्याउने खाल्डो बनेको छ । खाल्डाखुल्डी नपुरिँदा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम समेत बढेको छ ।

विशेषगरी पिप्लेचोक, क्याम्पाडाँडा मोड, न्यूरेनी मोड लगायत स्थान सबैभन्दा बढी दुर्घटना हुने स्थान हो । सो स्थानको ठुलाठुला खाल्डो नपुरिँदा आफुहरु जोखिम मोलेरै सवारी गुडाउन माध्य भएको अटो चालक दिपक ढकाल बताउँछन् । ‘खाल्डो भएको ठाउँमा पिज कटेर गिट्टी हालेर लेवल मिलायो । तर, टालटुल गर्ने काम चाहीँ गरेन । अहिले पिच सडकको ठाउँठाउँमा ज्यानमरा खाल्डो बनेको छ।’ उनले भने, ‘सवारी दुर्घटना भएर कति खेर कसको ज्यान जाने हो ठेगान छैन ।’ 

दुर्घटनाको जोखिममा सबैभन्दा धेरै मोटरसाइकल, स्कुटर, साइकल, अटो रिस्सा लगायतका साना सवारीसाधन छन् । दैनिक हजारौँ सवारीसाधन आवागमन गर्ने सडक मर्मतमा सरोकारवाला निकायले ध्यान नदिएको स्थानिय बताउँछन् । स्थानीयवासीले सडक तत्काल मर्मत गरेर समस्या समाधान गर्न माग समेत गरेका छन् ।

तस्बिर: संजिव रसाईली