प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडामा अखाद्य बस्तु उत्पादन गर्ने उद्योग सिल, म्याद सकिएको र उत्पादन मिति नभएको दाना भेटियो

२०७९ भाद्र २, बिहीबार १३:२२ बजे

हेटौंडा – हेटौंडा उपहानगरपालिका वडा नं.८ मा सञ्चालनमा रहेको अनामिका खाद्य उद्योगमा सिल गरिएको छ । बजार अनुगमन टोलीले एक पटक उत्पादिन बस्तु पुनः उत्पादनमा प्रयोग गरेको भेट्टापछि बस्तु उत्पादन र वितरणमा रोक लगाईएको हो ।

उद्योगले २०७६ असार मसान्तदेखि खाद्य अनुज्ञापत्र समेत नविकरण गरेको, बस्तु उत्पादनमा प्रयोग गर्ने खाद्य पदार्थमा संक्रमणको जोखिम र सरसफाईमा समेत कमी देखिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए ।

यस्तै, हेटौंडा उपहानगरपालिका वडा नं.८ मै रहेको भ्याली पेलेट फिड प्रा.ली.ले म्याद सकिएको र उपभोग्य मिति नभएको दाना बिक्री वितरण गरेको पाईएको छ । अनुगमन टोलीले भ्याली पेलेट फिडको गोदामबाट एल–थ्री ५४ बोरा(प्रतिबोरा ५० केजि) १ लाख १४ हजार मुल्य बराबरको म्याद सकिएको र एल–थ्री २६० बोरा(प्रतिबोरा ५० केजि) ९ लाख २३ हजार मुल्य बराबरको उपभोग्य मिति नखुलेको दाना फेला परेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए । मिति समाप्त भएको दाना ४५ बोरा जफत गरी नष्ट समेत गरिएको उनले बताए । 

त्यसैगरी हेटौंडा दुग्ध वितरण आयोजना र एन्टार्टिक विस्कुट प्रा.लीमा सरसफाईमा कमी देखिएकाले सरसफाईमा सुधार गर्न निर्देशन दिएको गैह्रले बताए । हेटौंडा दुग्ध वितरण आयोजनालाई संरचना मर्मत तथा लेवलिङगमा सुधार गर्न समेत निर्देशन दिएको उनले बताए ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा हेटौंडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।