प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष पाण्डेको निधन

२०७९ कार्तिक १०, बिहीबार १६:०९ बजे

हेटौडा - नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार कौशल पाण्डेको निधन भएको छ । उनको हेटौंडा उपमहानगरपालिका– ४ कमलडाँडास्थित निवासमा बिहीबार निधन भएको हो  । 

 

लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका पाण्डेको ७५ वर्षमा आज अपरान्ह ५ बजेर ४५ मिनेटमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । मकवानपुरे पत्रकारिताको संस्थापक मध्येका एक पाण्डेको निधनले मकवानपुरे पत्रकारिता क्षेत्रमा अपुरणीय क्षती पुुगेको छ । 

 

शिक्षण पेशामा लामो समय योगदान दिएका पाण्डे क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहाकार, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्ष थिए  । उनी लिभर सिरोसिको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यका अनुसार तर, पछिल्लो केही सातादेखि स्वास्थ्यअवस्था जटिल बनेको थियो । 

 

मकवानपुरको पत्रकारिता विकासमा पाण्डेको विशेष योगदान रहेको थियो । उनले सधैँ शासनबाट उत्पीडनमा पारिएकाहरूको पक्षमा कमल चलाउँदै आउनु भएको थियो । हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा लामो समय अध्यापन गर्नु भएका पाण्डे त्यहाँबाट अवकास पाएपछि पूर्ण रूपमा पत्रकारितामा सक्रिय थिए  । उनको प्रकाशन सम्पादनमा मकवानपुरको पुरानो मध्येको एक ‘प्रयास अर्धसाप्ताहिक’ प्रकाशन हुँदै आएको छ ।