प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौँडामा ख्रिष्टमस शुभकामना आदानप्रदान

२०८० पौष २, सोमबार १९:३४ बजे

मकवानपुर – हेटौँडा नगर पाष्टर एशोसिएसनद्धारा आयोजित ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आज हेटौँडा—४ को रोयल पार्टी प्लालेसमा हर्षोल्लासका साथ कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गरेको हो ।

हेटौँडा नगर पाष्टर एशोसिएसनका अध्यक्ष अशोक अधिकारीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका मेयर मिना लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नेपाल पेन्तिकोष्टल चर्चका रेभरेण्ड पाष्टर भानुभक्त भोलनले शुरुको प्रार्थनाबाट अगाडि बढेको कार्यक्रममा इसाई आवाजका अध्यक्ष रेभरेण्ड पास्टर रामकृष्ण पन्तले स्वागत मन्तव्य दिएका थिए । पाष्टर सुर्य राईले येशु ख्रिष्टको जन्मदिन ख्रीष्टमसको महत्व र मनाउनुको उद्देश्यबारे सु—सन्देश बाँडेका थिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर मिना लामाले सबैको त्याग र बलिदानको कारण मुलुक धर्मनिरपेक्ष राज्य भएपश्चात विगतमा जस्तो ईसाई धर्मावलम्बीहरुले अत्याचार र भेदभाव सहनुनपरेको बताइन् । मुलक गणतन्त्रमा गईसके पछि धर्म र जातका आधारमा विभेद गर्ने छुट कसैलाई नभएको भन्दै नगरले ईसाई समुदायको समस्यामा विगत देखिनै सहयोग गर्दै आईरहेको उल्लेख गरिन् । ईसाई समुदायको आर्थिक स्तर बृद्धि गर्नको लागि सिप र ज्ञान प्रदान गरि उत्पादनसंग जोड्न आफु तयार रहेको भन्दै ख्रीष्टमसको अवसरमा सबैको उन्नति प्रगतिको कामना समेत गरेकी थिइन् ।

उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले संविधानमा सबै धर्मका अनुयायीको उत्तिकै अधिकार कायम रहेको उल्लेख गर्दै भने,‘मानवताको रक्षा गर्नको लागि धर्मको आवश्यकता भएको हो, मानवताको कदर गर्दै आफु र अरुलाई साथमा लिएर अघि बढ्नु आजको आवश्यकता रहेको छ ।’ उनले ईसाईहरुले लिएर आएको योजनालाई सदैव साथ समर्थन गर्दै आईरहेको भन्दै सबै धर्मको सम्मान गर्न सकेको खण्डमा मात्रै नगरको बिकास र सम्बृद्धिले गति लिन सक्ने बताइन् ।

विभिन्न क्रिसमस गीतहरु प्रस्तुत गर्दै सम्पन्न भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देल,५ का वडा अध्यक्ष शुसिल घिमिरे,८ का वडा अध्यक्ष रामकृष्ण थापा, १४ नम्बर वडा अध्यक्ष दिपक खड्का,गैसस महासंघका अध्यक्ष आरती पाठक, एन.सि.एफ.नेपाल जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष सुर्य बहादुर पाख्रिन,ईसाई समाज मकवानपुरका उपाध्यक्ष एल्डर रुबेन राई,मध्य पश्चिमका अध्यक्ष पास्टर मिलन सेडाई, योगदान राष्ट्रको लागि केन्द्रिय सदस्य अभिषेक उप्रेति,बरिष्ट पाष्टर फुर्व बहादुर तामाङ,नगरका लगायतको आथित्यता रहेको थियो ।