हेटौंडा – बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतका १३ वटा जिल्लाका प्रादेशिक अस्पतालका सबै शय्या निःशुल्क हुने भएको छ । साउन २२ गतेको बागमती प्रदेश मन्त्रीस्तरको निर्णय अनुसार प्रादेशिक अस्पतालको क्याबिन, एनआइसियु र आइसियुबाहेक अन्य सम्पूर्ण शय्या भदौ १ देखि निःशुल्क रूपमा बिरामीलाई उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक एवं प्रवक्ता दीपकप्रसाद तिवारीले जानकारी दिनुभयो । मन्त्रालयका आयुर्वेद चिकित्सक डा. रविन भुसालद्वारा जारी सूचना अनुसार सबै अस्पताललाई निर्देशन जारी गर्दै भदौ १ देखि लागु हुने गरी कार्यान्वयन गर्न भनिएको छ। बिरामीले प्रतिशय्या न्यूनतम २५ रुपियाँदेखि पाँच सय रुपियाँसम्म तिर्दै आएका थिए।
त्यस्तै प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्याबिटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देशन गरिएको छ। यो सेवा पनि भदौ १ बाट लागु गर्न मन्त्रालयले निर्देशन गरेको छ । मन्त्रालयले सरकारी, निजी, सहकारी र सामुदायिक अस्पताललाई सामाजिक सेवा एकाइ स्थापना गर्न निर्देशन गरेको छ। मन्त्रालयले एकाइमार्फत असहाय, अपाङ्गता भएका, विपन्न, बेवारिसे बिरामीको उपचार व्यवस्थित गर्ने निर्णय भएको हुँदा अनिवार्य रूपमा कार्यान्वयन गर्न उल्लेख गरेको छ । निजी स्वास्थ्य संस्थाले १० प्रतिशत बिरामीलाई निःशुल्क सेवा दिनुपर्ने व्यवस्था छ ।
मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीका अनुसार १३ वटा अस्पतालका ८११ शय्या निःशुल्क हुने व्यवस्था गरिएको बताउनुभयो । मन्त्रालयका अनुसार हेटौंडा अस्पतालमा १७५ शय्या, त्रिशूली अस्पतालमा ९२ शय्या, घाटिङ अस्पतालमा ७९ शय्या, भक्तपुर अस्पतालमा ७५ शय्या, चौतारा अस्पतालमा ३६ शय्या, मेथिनकोट अस्पतालमा ५१ शय्या बकुलहर रत्ननगर अस्पतालमा ७६ शय्या, सिन्धुली अस्पतालमा ७७ शय्या, पशुपति चौलागाईं अस्पतालमा ४५ शय्या, वज्रवाराही चापागाउँ अस्पतालमा २५ शय्या, रसुवा अस्पतालमा १९ शय्या, टोखा चण्डेश्वरी अस्पतालमा २५ शय्या र रामेछाप अस्पतालमा ३६ शय्या निःशुल्क गरिने मन्त्रालयले जनाएको छ ।
गत आर्थिक वर्षमा प्रादेशिक अस्पतालमा १८ हजार सात सय बिरामी भर्ना भएर सेवा लिएकामा एक लाख २४ हजार ३५० जनाले ओपिडी सेवा लिएका थिए । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार प्रादेशिक अस्पतालबाट सेवा लिने सात लाख ५५ हजार २४ जना छन् । मन्त्रालयका प्रवक्ता तिवारीका अनुसार भक्तपुर, हेटौंडा, बकुलहर, त्रिशूली, धादिङ अस्पतालबाट सेवा लिने बिरामीको सङ्ख्या धेरै छ ।गोरखापत्र दैनिकबाट