हेटौंडा – नेपाल उद्योग वाणिज्य महासंघ तथा मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा एक दिवसीय ईम्प्लोयर्स मिट (रोजगारदाता भेला) कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । उद्योग प्रतिष्ठानहरुको आवश्यकताअनुुसारको दक्ष जनशक्ति उत्पादन एवम् आपूर्ती गरी रोजगारी सृजना गर्ने प्रमुुख उद्देश्यले अन्तराष्ट्रिय श्रम संगठन (आई.एल.ओ.)को सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा कार्यस्थलमा आधारित सिप विकास तालिमहरु संचालन गरिरहेकाले सोही सन्दर्भमा कायर्क्रम आयोजना गरिएको हो । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति उज्वल चौलागाईको सभापतित्व तथा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा श्रम तथा यातायात कार्यालय हेटौंडाका कारखाना निरीक्षक चन्द्र नारायण श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका विज्ञ खेमराज काफ्ले, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव दिपक उप्रेती, मकवानपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष तथा एम एम पोलिमर्सका महाप्रवन्धक विजय कुमार वैद्य, नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक तथा परियोजना संयोजक अजित गुप्ता, उद्योगपति बासु कार्कीलगायत विभिन्न उद्योग प्रतिष्ठानका प्रवन्धकहरुको सहभागिता रहेको थियो ।
सिप विकासका कार्यविधि अन्तिम चरणमा: मन्त्री एकालाल श्रेष्ठ
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले हेटौंडामा नया“ उद्योगहरु स्थापना गर्नुपर्ने बताएका छन् । बागमती प्रदेश सरकारले श्रम तथा रोजगार नीतिलाई व्यवस्थित गर्न ड्राफ्ट तयारीको कार्य भइरहेको, सिप विकासको लागि आवश्यक कार्यविधि अन्तिम चरणमा रहेको र दशहजार नागरिकलाई रोजगार बनाउने योजना कार्यान्वयन गर्न गइरहेको उनले बताए ।
जनशक्तिको आवश्यक्ता यकिन गर्दै दक्ष प्रशिक्षकबाट तालिम प्रदान गरी रोजगार बनाउनु पर्ने औल्याए । राज्यका निकायहरुले तालिम दिएर दक्ष बनाएका कामदारहरुलाई निजी क्ष्ँेत्रले रोजगारी दिनसक्ने भएकोले निजी क्ष्ँेत्र र राज्य बीच सहकार्य आवश्यक रहेको बताए । शैक्षिक पाठ्यक्रममा रोजगार केन्द्रीत विषयहरु समेटिनु पर्ने उनको भनाई थियो ।
कार्यक्रमको बारेमा नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक तथा परियोजना संयोजक अजित गुप्ताले आफ्नो प्रस्तुतिकरण दिएका थिए, भने कार्यस्थलमा आधारित तालिम सम्बन्धी प्रस्तुतिकरण नेपाल उद्योग वाणिज्य महासंघका विज्ञ खेमराज काफ्लेले दिएका थिए । कार्यक्रमका सहभागिहरुबाट प्रश्नावली अनुसार सूचना संकलन तथा समूहगत कार्य तथा प्रस्तुतिकरण गरिएको थियो ।