हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी पुरा भएको छ । गाउँपालिकाले विहिबार पत्रकार सम्मोलनमार्फत चैत १२ गते बालमैत्री घोषणा गरिने र यसको सबै तयारी पुरा भएको जनाएको हो ।
गाउँपालिकाले ५ वटा मुख्य क्षेत्र(सूचक) भित्रका ५१ वटा सूचकहरु चरणबद्ध रुपमा पारेर पालिकालाई बालमैत्री घोषण गर्न लागिएको मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले जानकारी दिए । बाल बचाउँ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता र संथागत विकास मुख्य सूचक रहेका छन् । उनले घोषणा कार्यक्रमलाई सफल पार्न विभिन्न समिति तथा उप–समिति गठन गरिएको र तयारी अन्तिम चरणमा पुगको बताए ।
सम्मेलनमा बालमैत्री स्थानीय शासन कार्यक्रम सहसंयोजक कविराज हुँमागाईंले बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन, कार्यान्वयन तथा घोषणाका सन्दर्भका बारेमा जानकारी दिएका थिए । जानकारी पश्चात सञ्चारकर्मीहरुको जिज्ञासाको प्रतिक्रिया दिदै अध्यक्ष हुँमागाईंले बालमैत्री स्थानीय कार्यान्वयन तथा दिगोपनाको लागि वडास्तरको लगानी योजना र पाँच बर्षे रणनितिक योजना बनाइएको अध्यक्ष हुँमागाईंले बताए ।
वडास्तरिय लगानी योजना अन्तर्गतको कार्यक्रमका लागि गाउँपालिकाले ३ करोड बजेट विनियोजन गरेको अध्यक्ष हुँमागाईंले बताए । उनले बालमैत्री गाउँपालिकाका ४ वटा क्षेत्रका ५१ वटा सूचकहरुलाई पुर्णरुपमा टिकाई राख्न अगाडी बढेको बताए । उनले पहिलो एकबर्षमै ३७ वटा बालविवाहलाई नियन्त्रण गरेको स्मरण गर्दै हाल गाउँपालिकामा बालबिवाह शुन्य रहेको दाबी गरे ।
विद्यालयमा बालिबालिकाको सहभागिता बढाउन घरदैलो अभियान र शिशु कक्षा देखि कक्षा १२ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराएको अध्यक्ष हुँमागाईंले बताए । बालमैत्री स्थानीय प्रशासनको कुनै पनि सुचक समस्या देखिएमा गाउँपालिकाले तत्कालै समाधन गर्ने उनले बताए । उनले आगामी दिनमा आउने जनप्रतिनिधिले पनि यस कार्यलाई निरन्तरता दिने विश्वास ब्यक्त गरे ।
त्यस्तै कार्यक्रममा बालमैत्री राष्ट्रिय अभियानका सहजकर्ता विष्णु प्रसाद चौबे (चर्तुबेदी) ले मकवानपुर जिल्ला बालधिकारको सुनिश्चिततामा अन्य जिल्ला भन्दा अगाडी रहेको बताए । उनले मकवानपुरगढी गाउँपालिका ५१ वटा सुचक पुरा गर्ने देशकै दोस्रो गाउँपालिका हुने बताए । पाल्पाको रम्भादेवि गाउँपालिकाले ५१ वटा सुचक पुरा गरी बालमैत्री घोषण गरेको उनले बताए । यसअघि मकवानपुरको मनहरी र बकैंयाले ३९ वटा सुचक पुरा गरी बालमैत्री स्थानीय शासन अवलम्बन गरी घोषणा गरेको थियो ।
बालमैत्री स्थानिय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानियशासन कार्यान्वयन कार्यविधि २०६८, नेपालको संविधान २०७२ को मौलिक हक, बालबालिका ऐन २०७५, स्थानिय सरकार संचालन ऐन २०७४ मा बालबालिका केन्द्रित कानूनी व्यवस्थालाई अवलम्बन गरि बालमैत्री स्थानिय शासन अवलम्बनको अभियान चलाईएको थियो ।
सोही अनुरुप आर्थिक बर्ष २०७६/०७७ को बार्षिक बजेट नीति तथा कार्यक्रममा गाउँपालिकाले बालमैत्री स्थानीय शासन नीतिगत अबलम्बन गर्ने निर्णय गरेको थियो । त्यसपछि गाउँपालिकाले २०७७ माघ १९ र २० गते बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणाको लागि गाउँपालिकास्तरमा सामुहिक प्रतिवद्धता जनायो ।
त्यसपछि गाउँपालिकाको ८ वटै वडामा टोल, विद्यालय, वडा तथा पालिका स्तरमा बाल समुहहरुको गठन तथा क्रियाशिलतालाई तिब्र बनाएको थियो । हाल गाउँपालिकाभर १०३ वटा बाल समुह गठन गरिएको छ । जसमा ६०३ बालक र ८५४ बालिका गरी १ हजार ४५६ जना बालबालिका आवद्ध छन् ।
बालमैत्री स्थानीय शासनका लागि गठन भएका बाल समुह सहित ७ वटा समुह तथा समितिमा बालकालिकाहरुको प्रतिनिधित्व गराइएको छ । गाउँपालिका समिति, वडासमिति, बालधिकार समिति, विद्यालय ब्यवस्थापन समिति तथा स्टाफ समिति, स्वास्थ्य ब्यवस्थापन समिति, वडा तथा गाउँपालिका बाल समुह र सञ्जालमा बालबालिकालाई प्रतिनिधित्व गराइएको छ । ७ वटा समुह तथा समितिमा बालक ७४३ र बालिका १ हजार १९ गरी १ हजार ७६२ बालकालिका समुहमा आवद्ध छन् ।
आर्थिक बर्ष २०७७/७८ को बार्षिक बजेट नीति तथा कार्यक्रममा २०७८ को मंसिरभित्र बालमैत्री घोषण गर्ने निर्णय गरेको थियो । त्यस्तै आ.ब. ०७८/७९ को नीति तथा कार्यक्रममा,“बालमैत्री स्थानीय शासन, मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान” शुरु गरी यही फागुन २९ गते गाउँपालिकाको ८ वटै वडालाई बालमैत्री घोषणा गरिएको थियो ।
गाउँपालिका हाल ८ हजार २९३ बालबाललिका रहेका छन् । जसमा ४ हजार ६२४ बालक र ३ हजार ६७२ बालिका रहेका छन् । ५ हजार ३ घर धुरी रहेको गाउँपालिकामा कुल जनसंख्या २५ हजार १०५ रहेको छ । जसमा महिला १२ हजार ६२ र पुरुष १३ हजार ४३ रहेको गाउँपालिकाले जनाएको छ ।
बालमैत्री घोषण कार्यक्रम १२ गते शनिबार दिउँसो १२ बजे वडा नम्बर ५ धादिङ खेलमैदानमा हुनेछ । कार्यक्रमको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा कार्यक्रम हुनेछ । राष्ट्रिय कलाकार निशान भट्टराई, स्वस्तिका ढकाल, प्रकाश तामाङ लगायतको प्रस्तुती रहनेछ ।