हेटौंडा – बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजना भएको दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशाला शनिबार विशेष समारोहकाबीच दोस्रो प्रदेश खेलकुदको समापन गरिएको हो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा साथ आयोजना भएको दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितमा समापन भएको हो । यही जेष्ठ ७ गते मुख्यमन्त्री जम्कटे्टलले पिप्ले क्याम्पा रंगशालामै प्रतियोगिताको उद्घाटन गरेका थिए ।
दोस्रो संस्करणमा काठमाडौं ३१ स्वर्ण, २२ रजत र २५ कांस्य गरी कुल ७८ पदक सहित टिम च्याम्पियन बनेको हो । चितवन २३ स्वर्ण, २४ रजत र २५ कांस्य गरी कुल ७२ पदक सहित दोस्रो स्थानमा रहँदा काभ्रे तेस्रो भयो । काभ्रेले २२ स्वर्ण, १३ रजत र १८ कांस्य सहित ५३ पदक जित्न सफल भयो ।
समापनमा टिम च्याम्पियन बनेको काठमाडौं, दोस्रो चितवन र तेस्रो काभ्रेलाई ट्रफी प्रदान गरिएको थियो । काठमाडौंले पहिलो पटक प्रदेश खेलकुदको च्याम्पियन ट्रफी जितेको हो। यसअघि पहिलो संस्करणमा चितवनले च्याम्पियन ट्रफी जितेको थियो ।
मुख्यमन्त्री जमकट्टेल, प्रदेशको आर्थिक मामिता तथा योजना मन्त्री बहादुर सिंह लामा, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, प्रतियोगिता संयोजक तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी लगायतले काठमाडौं, चितवन र काभ्रे जिल्ला खेलकुद विकास समितिकालाई ट्रफी प्रदान गरे ।
मकवानपुर, काठमाडौं, चितवन र ललितपुरमा प्रतिस्पर्धा गराइएको खेलकुदमा १३ खेलमध्ये १२ खेलका कुल १६८ स्वर्ण पदक गणना भएको थियो । पौडी खुला प्रतियोगिता भएकाले पदक तालिकामा पौडीको पदक गणना गरिएन ।
बागमती प्रदेशका १३ जिल्लाका करिब २५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताका स्वर्ण, रजत र कांस्य विजेताले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
पदक तालिकाको चौथो स्थानमा ललितपुर रहदा सिन्धुपाल्चोक पाँच र मकवानपुर छैटौं स्थानमा छ । त्यस्तै भक्तपुर, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली क्रमशः सातौं, आठैं, नवौं, दशौं र एघारौं स्थानमा रहको छ भने रसुवा अन्तिमबाट पहिलो र धादिङ दोस्रो भएका छन् ।
हेर्नुहोस, कुन जिल्लाले कति पदक जित्यो ?
