हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ मा स्कुल बस सहित ४ सवारी एक आपसमा ठाक्किंदा एक दर्जन बढी घाईते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सोमबार बिहान ९ बजे तिब्रगतिमा रातमाटेबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ६२५४ नम्बरको ट्रकले ना १ क ५१२३ नम्बरको स्कुल बससहित तीन वटा सवारीसाधनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

प्रवक्ता कार्कीका अनुसार उक्त ट्रकले सुरुमा रातोमाटेबाट हेटौंडातर्फ आउँदै रिलाइन्स् बोर्डिङ्ग स्कुलको बसलाई पछाडिबाट ठक्कर दिएर विपरित दिशाबाट आउँदै गरेको लु १ क ४३७० नम्बरको खाली ट्याङ्कर, बा ७ च ९६०४ नम्बरको कार र सडक छेउमा रोकिराखेको प्रदेश २–०३–००१–ख २५०६ नम्बरको लहरीलाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट अनियन्त्रित भएको बस आपँको रुखमा र ट्याङ्कर कारमाथि पल्टिएको थियो ।

दुर्घटनमा परी स्कुल बसमा सवार विद्यार्थी सहित करिब एक दर्जन भन्दा बढी घाइते भएका छन् । घाइते भएकाहरुको हेटौंडास्थित चुरेहिल र हेटौंडा अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता कार्कीले बताए ।दुर्घटनाको कारण अवरुद्ध भएको पुर्वपश्चिम हेटौंडा–पथलैया सडकखण्ड सञ्चालनमा आएको छ ।
