हेटौंडा – मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा बुधबार साँझ हिमपात भएको छ । दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भए पछि स्थानीय किसान, होटल व्यवसायी खुशी भएका छन् ।
ईलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापामगरले सीमभञ्ज्याङ क्षेत्रमा साँझदेखि सामान्य हमिपात सुरु भएको जानकारी दिए । राति थप हिमपात भएको खण्डमा भोलि त्रिभुवन राजपथमा यातायात अबरुद्ध हुनसक्ने सम्भावना रहेको छ । यद्यपी आज साँझसम्म यात्राया अबरुद्ध भएको छैन ।
सीमभञ्ज्याङका स्थानीय होटल ब्यवसायीका अनुसार खेल्न मिल्नेगरी सीमभञ्ज्याङ, दामनमा हिउँ परेको छ । मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपलिकाको दामन क्षेत्रमा प्रत्येक वर्ष हिमपात हुने गरेको छ । दामन सीमभञ्ज्याङ क्षेत्रबाट नेपालको ८ हजार मिटर भन्दा अग्ला ७ हिश्रृंखला अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकरलगायत हिमाल हेर्न सकिन्छ । त्रिभुवन राजपथको सबैभन्दा अग्लो भूभाग सीमभञ्ज्याङ हो । यसको उचाई दुई हजार ४ सय ८८ मिटर रहेको छ ।
राजधानी काठमाडौं साथै हेटौंडा, वीरगञ्ज, चितवनलगायत तराई क्षेत्रबाट हिउँ खेल्ने अनुभव लिन दामन सीमभञ्ज्याङ आउने आन्तरिक पर्यटक हिमपातपछि यहाँ भेटिन्छन् । दामन साइकलयात्रीको लागि पनि राम्रो गन्तव्य हो । थानकोटबाट चन्द्रागिरी हँुदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सीमभञ्ज्याङसम्म साइकलमा यात्रा गर्ने साइकलप्रेमीको संख्या पनि हरेक वर्ष बढ्दै गएको स्थानीयले बताएका छन् ।
त्यस्तै चन्द्रागिरीमा साँझपखदेखि हिमपात भएको स्थानीयले बताएका छन् । चन्द्रागिरीस्थित भालेश्वर महादेव मन्दिरका पूजारी बिदुर न्यौपानेले चन्द्रागिरीमा साँझदेखि नै हल्का हिमपात सुरु भएको जानकारी दिए । चन्द्रागिरीमा हिमपात सुरु भएपछि साँझदेखि नै काठमाडौंबाट हिउँ खेल्न युवा आउने क्रम सुरु भएको स्थानीयले बताएका छन्