काठमाडौं – पोखराको मणिपाल अस्पतालबाट भागेका एक युवक सेती नदीको ड्याममा मृत अवस्थामा भेटिएका छन् । तनहुँ घर भई पोखरा १६ लामाचौर बस्दै आएका १९ बर्षीय संगम मिश्र मृत अवस्थामा भेटिएका हुन् ।
ज्वरो सम्बन्धी बिरामी भएर उपचार गराउन गएका उनी सोमवार अस्पतालबाट भागेका थिए । उनी बाबु हरिप्रसाद मिश्र औषधी लिन गएका बेला अस्पतालबाट निस्किएको प्रहरीले जनाएको छ ।
उनको कार्ड समेतको कपडा सेती नदीमाथिको पुलमा भेटिएपछि प्रहरीले नदीको ड्याम खोजतलास गरेको थियो । उनको खोजी गर्दा ड्याममा नै मृत अवस्थामा भेटिएको हो । उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ ।