हेटौंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी पहिरोमा पुरिएर बेपत्ता भएका ६ जना विद्यार्थीको शव फेला परेको छ।
पहिरोमा बेपत्ता भएका सबै जनाको शव साँझ ५ः३० बजेको समयमा उद्धार गरी ७ः१७ बजेको समयमा नेपाली सेनाको हेलिमार्फ काठमाडौंस्थित शिक्षण अस्पताल पठाईएकोको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार सकुशल रहेका ३४ जना विद्यार्थीलाई सोही हेलिकप्टरमै काठमाडौं पठाईएको छ । केही दिनको लगातार बर्षको कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान जलाशयको ढोका खोलिएको थियो ।
त्यसैको कारण सिस्नेरी खोलामा जलसतह बढेसँगै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा आएको पहिरोमा परी एन्फा एकेडेमीका ६ जना विद्याथीहरु बेपत्ता भएका थिए ।
प्रहरीले मृतकको नामावली भने सावजनिक गरेको छैन । उता अखिल नेपाल फुटबल संघ(एन्फा)ले भने आफ्नो प्रेस विज्ञप्तिमार्फ बेपत्ता विद्यार्थी भन्दै नाम सार्वजनिक गरेको थियो ।
एन्फाको विज्ञप्ती अनुसार मकवानपुरका अनुपम घलान, साइमन योञ्जन, दिवस बानिया, बाराका बिकल रेग्मी, काठमाडौंका रियान्स आचार्य र सर्लाहीका आदित्य बलपाकी रहेका छन् । अनुपम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानका छोरा हुन् ।
एन्फाले सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयसंग सम्झौता गरी विद्यार्थीलाई पढाउने र फुटबल प्रशिक्षण गराउँदै आएको थियो । त्यहाँ एन्फाका ४० जना विद्यार्थी बस्दै आएका थिए । तर, एन्फाले सञ्चालन गरेको सिस्नेरी एकेडेमीको कोटा २५ जनाको बुझिएको छ ।
घटना हुन सक्ने खतराको बारेमा पूर्वःजानकारी भएर पनि एन्फाले गम्भीरता पूर्वक नलिएको भन्दै यति बेला चौतर्फी विरोध भइरहेको छ । यो घटना एन्फाको लापरवाहीका कारण भएको भन्दै फुटबल समर्थकहरुले आलोचना गरेका छन् ।
‘अत्यन्तै दुखद घट्ना जिम्मेवार निकायको भिजनलेस प्रोजेक्टले परिवारले खेप्नु परेको चोट र राष्ट्रले व्यहोर्नु परेको अपुरणिय क्षति चानचुने होइन ! उक्त खबरले मर्माहत बनायो, स्तब्ध छौ । हे प्रभु खबर झुटो भैदियोस !!’ यस घटनाको समाचार सेयर गर्दै पूर्वफुटबल खेलाडी तथा प्रशिक्षक सुविन घिमिरेले आफ्नो फेसबुकमा लेखेका छन् ।