हेटौंडा – धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा हेटौंडाका एक युवक सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ घर भएका १९ वर्षीया भुमी मल्ल, काठमाडौं महानगरपालिका–१९ घर भई हाल ललितपुर लुकुसी बस्ने २० वर्षीय सोनिया श्रेष्ठ खड्गी, ललितपुर महानगरपालिका–१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी र ललितपुर गोदावरी नगरपालिका–५ घर भई हाल ललितपुर नागाबाहल बस्ने १९ वर्षीय अरबिन ठकुरी रहेका छन् ।
उनीहरुलाई काठमाडौं महानगरपालिका–२४ हनुमानढोका परिसर अगाडि ओखलढुङ्गा लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौं क्षेत्रपाटी बस्ने १७ वर्षीय सनि कार्कीको धारिलो हतियार प्रहार गरी हत्या घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार धारिलो हतियार प्रहारबाट सोमबार राति गम्भीर घाइते भएका सनि कार्कीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाको अनुसन्धानको क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोही दिन काठमाडौं महानगरपालिका–२४ मखनबाट, भुमी मल्ललाई काठमाडौं क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका–१६ बाट घटनामा प्रयोग भएको चक्कुसहित मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू उपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको बताईएको छ ।