मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ रजजयन्ती चोक नजिक सवारी दुर्घटनामा एक व्यक्ति गम्भीर घाइते भएका छन्। बिरगंजबाट हेटौंडातर्फ आइरहेको ना ६ ख ३३७६ नम्बरको कनिका लोड ट्रकले साइकिल बचाउने क्रममा बाटोको छेउमा सुतेका पुरुषलाई ठक्कर दिएको हो।
दुर्घटना दिउँसो भएको थियो। ट्रकको ठक्करबाट अन्दाजी ३४/३५ वर्षीय कृष्ण न्यौपाने (ठेगाना खुल्न बाँकी) बाँया खुट्टाको घुँडाभन्दा मुनिको भागमा गम्भीर चोट लागेका छन्। उनलाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि भरतपुर, चितवन रिफर गरिएको छ।
ट्रक रजजयन्ती चोकमा दाहिने मोडिने क्रममा साइकिललाई बचाउने प्रयास गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। साइकिललाई ट्रकले नछोएको पुष्टि भएको छ।
दुर्घटनामा संलग्न ट्रक र चालक सुखाडी भैया (४९), पर्साको जिराभवानी गाउँपालिका–९, शंकरसरैया निवासीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।