प्रहर खबर
 २०८१ बैशाख १६, आईतबार    

पहिले युद्धभूमी र मसानघाट, अहिले खेलकुद 'कुम्भ'

२०८० जेठ १३, शनिबार ०३:३५ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहागरपालिका वडा नं.५ को पिप्ले क्याम्पा रंगशाला प्रदेशकै उत्कृष्ट खेलकुद मैदान बनेको छ । यस मैदानको विगतलाई सम्झिने हो भने खुल्ला गौचरण थियो । यहाँ कोही आउँदैन थिए ।

हेटौंडा बजार नजिकै भएपनि एक जवाना यस्तो थियो, दिन होस् या साँझ मान्छे एक्लोदुग्लो हिड्न डराउथे । किन भने त्यो स्थान युद्धभूमी र मान्छे मृत्यु भएपछि दाहसंस्कार गर्ने (संसानघाट)थियो । तर, अहिले यहाँ मध्य रातसम्म खेलाडी र खेलकुद प्रेमि दर्शकरुको बाक्लो उपस्थित हुन्छ ।

स्थानीय, जनप्रतिनिधि र खेलकुद प्रेमिको सहयोगमा बनेको रंगशाला, पहिलेको युद्धभूमि र मसानघाटमा अहिले खेलकुदको 'कुम्भ' हुने गरेको छ । यहाँ राष्ट्रिय, अन्तराष्ट्रिय, प्रदेश, जिल्लास्तरका थुप्रै खेलकुद गतिविधि हुने गरेको छ । रंगशालामा जेठ ७ गतेदेखि जारी दोस्रो बागमती प्रदेश खेलकुद आज(शनिबार) समापन हुँदैछ । जहाँ प्रदेशका १३ जिल्लाका दुई हजार बढी खेलाडी सहभागि थिए ।

रंगशाला निर्माणमा जनताको लगानी परेको छ । त्यसमा दुई मत छैन । यसको जस पूर्वराष्ट्रिय बक्सिङ्ग खेलाडी सुशिल घिमिरेले पाएका छन् । घिमिरेकै नेतृत्वमा तीन बर्षअघि रंगशालाको काम सुरु गरिएको थियो । आयव्यय सार्वजनिक भएको छैन, रंगशाला निर्माणमा करिब दुई करोड खर्च भएको अनुमान छ ।

यसअघि सुशिलकै नेतृत्वमा करिब १ करोड बढी लागत अनुमान गरिएको कर्भड हल श्रमदान र सहयोगमा ४० लाखमा निर्माण गरिएको थियो । त्यही कर्भड हल निर्माणबाट बचत भएको रकम र खेलकुदप्रमि दर्शकहरुको सहयोगमा रंगशाला निर्माण कार्य सुरु गरिएको थियो ।

निर्माणको क्रममा कोभिड कहर थियो । तत्कालिन हेटौंडाका मेयर हरि बहादुर महत र वडाध्यक्ष राजेश बाँनियाको साथ र सहयोगले निर्माण कार्य रोकिएन । निर्माण सुरु गरेको करिब एक बर्षमै रंगशाला ठडियो

रंगशालामा अन्तराष्ट्रिय मापदण्ड अनुसार रनिङ्ग ट्याक, सहित एक कंक्रिट र दुई फलामे प्याराफिट बनाईएको छ । जुन ५ हजार दर्शक क्षमताको छ । हेटौंडामा पहिलो जस्तो बाँसको प्याराफिटमा बसेर खेल हेर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

सुशिल एक जवानको नेपालकै नम्बर वान बक्सिङ खेलाडी थिए । उनी प्रतियोगिताको लागि देशविदेश पुगे । १० औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जिते । सुविधा सम्पन्न खेलकुद संरचना पनि देखे ।

‘त्यस्तै संरचना हाम्रो ठाउँमा पनि बनाउन पाए हुन्थ्यो, जस्तो लाग्थ्यो, त्यति बेलामा हाम्रो बसमा थिएन,’ उनले भने, ‘स्थानीय सरकार आएपछि मैले आँट गरे, त्यो बेला मेयर साप, वडाध्यक्ष ज्यू र खेललाई माया गर्नेहरुको सहयोगले रंगशाला बन्यो ।’

सरकारकै लगानीमा निर्माण सुरु गरेको खेलकुदका भौतिक पूर्वाधारहरु बषौँ वित्दा अलपत्र रहँदा एक बर्षमै रंगशाला बन्यो, भन्दा यसले देशभर सकारात्क सन्देश दियो । हेटौंडेलीहरुले खुशि समेत मनाए । त्यही सामाजिक कामकै कारण उनी २०७९ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित हुन सफल भए ।

भौतिक संरचनाले मात्रै खेलाडीको क्षमता विकास हुँदैन । खेलाडीको खेलस्तर प्रशिक्षण अनिवार्य हुन्छ । खेलाडीलाई बन्द प्रशिक्षणमा राख्र्दा ठुलो रकम खर्चेर होटलमा राख्नु पर्ने स्थिति छ । त्यसको अन्त्यको लागि खेलाडी राख्ने छात्राबास, ४ हजार दर्शक क्षमताको भिआईपी प्याराफिट, भलिबल कोण र फ्रडलाईट राख्ने क्बलको योजना छ ।

‘रंगशाला बन्नुमा हेटौंडा उपमहानरको ठुलो हात छ, अहिले पनि मेयर र उपमेयर ज्यूको राम्रो साथ छ, रंगशाला स्तरउन्नतिमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ,’उनले भने । 

हेटौंडा उपमहानगरको खेलकुद शिर्षककै ८५ लाख बजेट फ्रिज हुँदा खेलकुद समर्थक दुःखी छन् । बजेट फ्रिज भएर जान दिनु भन्दा खेलकुद शिर्षकको बजेट खेलकुदमै खर्च गरेको भए राम्रो हुथ्यो, खेल सर्मथकहरु बताउँछन् ।

रंगशाला निर्माण सकिएपछि अख्तियारमा मुद्दा

इन्जिनियरिङ स्टमेट अनुसार करिब ३ करोड बढी रकम लाग्ने अनुमान गरिएको रंगशाला करिब दुई करोडमै निर्माण भयो । रंगशालामा निर्माण गर्दा आर्थिक अनियमितता भयो भन्दै अख्तियारमा उजुरी परेको थियो ।

अख्तियारको सफाई, भुक्तानी आएन
करिब ७ महिना अगाडि अख्तियारको प्राविधिक सहितको टोलीले निरीक्षण गर्दा लागत भन्दा बढी काम देखिएपछि सफाई दियो । तर हेटौंडा उपमनगरपालिकाले एक करोड भन्दा बढी भुक्तानी रोकेको छ । भुक्तानी नआउँदा रंगशाला निर्माणको आयव्यय समेत सार्वजनिक गर्न नपाएको क्लबका पदाधिकारीहरुको गुनासो छ ।

कहाँबाट कति बजेट ?
क्लबका अनुसार रंगशाला निर्माणका लागि सबैभन्दा बढी स्थानीय तहको एक करोड ७५ बढी लाख लगानी छ । जसमा डेढ करोड हेटौंडा उपमहानगरबाट र २५ लाख वडा नम्बर ५ कार्यालयबाट छ । प्रदेशको सामाजिक बिकास मन्त्रालयबाट २५ लाख, जनस्तरबाट १५ लाख बराबर सहयोग प्राप्त भएको क्लबले जनाएको छ । रंगशालाको सम्पूर्ण रेखदेख पिप्ले युवा क्लबले गरिरहेको छ ।

 तस्वीरः प्रहर खबर, गोल हेटौंडा र सामाजिक सञ्जाल