हेटौंडा – हेटौंडाको बजार क्षेत्रको सडक विस्तारका विषयमा शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भएको छलफलमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र सरोकारवालाहरु सकारात्मक देखिएका छन् । डिभिजन सडक कार्यालय हेटौंडाले ३५ दिनको सूचना जारी गरेपछि सडक विस्तारको विषयमा भएको छलफलमा सरोकारवाला निकायहरु सकारात्मक देखिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा हेटौंडाको सडक विस्तार गर्नुपर्नेमा जोड दिनेहरु बहुमत देखिएका हुन् । पक्ष र विपक्षमा चर्को वहस भएको थियो । मकवानपुरमा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले राखेको सवैपक्षिय छलफलमा सडक विस्तारका सम्बन्धमा चर्काचर्की परेको थियो ।
२५ गजको विषयको बारेमा राखेको सर्बपक्षिय बैठकमा प्रदेशसभा सदस्य, मकवानपुर उद्योग वाणिज्य संघ, राजनीतिक दलका नेतृत्व, प्रहरी प्रशानस, सरोकारवाला घरधनी, हेटौंडा उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख सहितको उपस्थिती रहेको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले राज्यले पीडितलाई मुआब्जा र क्षतिपूर्ति नदिई घर भत्काउन खोजे प्रतिकार गर्ने चेतावनी दिए । त्यस्तै बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ सडक विस्तार गर्ने पक्षमा देखिएपनि १६ मिटरमै अड्किए । उनले राज्यले उचित क्षतिपुर्ति र मुआब्जा दिनुपर्ने, बाईपास निर्माण गरेर हेटौंडाको मुख्य बजारबाट १६–१६ मिटर सडक मात्रै बनाउनु पर्ने धारण ब्यक्त गरे ।
हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाले यस पटक हेटौंडाको मुख्य सडक बिस्तार भएरै छाडने दाबी गरिन् । उनले यस विषयलाई थप गिजोलेर समस्या नथप्ने आग्रह समेत गरिन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी पनि सडक २५ गज विस्तार हुनु पर्ने पक्षमा छ । रास्वपा मकवानपुरका संगठन विभाग प्रमुख विशालराज महतले कुनै हालतमा सडक विस्तार हुनु पर्ने बताए ।
डिभिजन सडक कार्यालय हेटौंडाका डिभिजन प्रमुख राजेश कुमार यादवले जारी भएको सुचना वेवास्ता गरिए कानुनी तबरबाट अतिक्रमित संरचना हटाउने बताए । सडक डिभिजनले गएको असार १० गते हेटौंडाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने सडकको २५ गज क्षेत्रभित्रको संरचना हटाउन सूचना जारी गरेको थियो ।