प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कांग्रेस मकवानपुरले भन्योः निर्वाचनमा अन्तरघात भएको छैन, प्रमाण भेटिए कारबाही हुन्छ

२०७९ मंसिर १८, आईतबार १६:११ बजे

हेटौंडा– नेपाली कांग्रेस मकवानपुरले गत मंसिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारमाथि अन्तरघात नभएको भन्दै प्रमाण भेटिए कारबाही गरिने बताएको छ । पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै गठबन्धनका उम्मेदवारलाई अन्तरघात भएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यमबाट अपुष्ट प्रचार भएको भन्दै आधारहीन कुरामा विश्वास नगर्न पार्टी र गठबन्धका नेता कार्यकर्तामा आग्रह गरेको हो ।

विशेष गरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीना र १ (ख) का उम्मेदवार आनन्दराम पराजुलीमाथि गठबन्धन दल र पार्टीबाटै अन्तरघात भएको भनी आधारहीन प्रचार गरिएको पार्टीले जनाएको छ । ‘हामी सबै पार्टी र गठबन्धनका उम्मेदवार जिताउन प्रतिवद्ध भएर लागेका थियौं । सबैकोप्रयास हुँदा हुँदै पनि उहाँहरुको पराजय भयो, हामी दुखित छौं ।’ पार्टी जिल्ला सभापति बुद्ध लामाले भने ‘तर, केही माध्यमहरुमा पार्टीका जिम्मेवार व्यक्तिहरुकै नाम लिएर अन्तरघात गरियो भनेर कुप्रचार गरियो । पार्टी र गठबन्धनभित्र निर्वाचनको समीक्षा हुनै बाँकी छ, यदि कतै कसैले कमजोरी गरेको रहेछ भने हामी त्यसपछि के गर्नुपर्छ हामी गर्छौं ।’

पार्टीका उम्मेद्वारहरुको पराजयका सम्बन्धमा भएको प्रचार प्रसारप्रति ध्यानाकर्षण भएको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुर एवम् नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति, बागमती प्रदेश सभापति लगायत जिल्ला तहका नेताहरु गठबन्धनको मर्म÷भावना अनुसारका क्रियाकलापहरुमा संलग्न भएको पार्टी जिल्ला प्रवक्ता अर्जुन चौलागाईले प्रष्ट पारे ।