हेटौंडा – हेटौंडामा भएको निःशुल्क छात्रावृत्ति परीक्षाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार डिप्लोमा प्रमाण पत्र तहको निःशुल्क छात्रवृत्तिका लागि भएको छनोट परीक्षामा सहभागी ५ जना नक्कली परीक्षार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका–४, स्थित भुटनदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ४ जना र हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ मावि परीक्षा केन्द्रबाट १ जनागरी ५ जना नक्कली परीक्षार्थी पक्राउ गरिएको प्रवक्ता भण्डारीले बताए ।
प्रहरीले भुटनदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट बारा पर्वानीपुर नगरपालिका–२ का २० वर्षीय नरेन्द्र महतोले रौतहट घर भएका १९ वर्षीय असाव आलमको नाममा परीक्षा दिइरहेका थिए ।
त्यस्तै, चितवनको भरतपुर महानगरपालिका–८ का १५ वर्षीय रुपेश यादवले १८ वर्षीय निमेश राय यादवको नाममा परिक्षा दिइरहेका थिए भने सर्लाहीको विष्णु गाउँपालिका–७ का १८ वर्षीय राजिव कुमार राउतले सिराहाका १८ वर्षीय ललन कुमार यादवको ठाउँमा परीक्षा दिँदै थिए ।
त्यस्तै, रौतहटको गरुडा नगरपालिका–२ का १८ वर्षीय लालबाबु सहनीले सर्लाहीका १८ वर्षीय सुनिल महतोको नाममा परीक्षा दिइरहेका थिए । सिद्धार्थ मावि परीक्षा केन्द्रबाट धनुषा उपमहानगरपालिका–१२ का २० वर्षीय रमेश यादवलाई शंका लागेर सुरक्षा जाँच गर्दा बारा पचरौता गाउँपालिका–५ का राकेश कुमार ठाकुरको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।