प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

थानकोट–चित्लाङ सडक खण्डमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु, एक हामफालेर बाँचे

२०८० पौष २८, शनिबार १८:१२ बजे

हेटौंडा – हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको थानकोट–चित्लाङ सडकखण्ड अन्तर्गत शनिबार दिउँसो चन्द्रागिरि नगरपालिका–४ सेतो पहरामाकार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

४ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौं–३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँ काठमाडौं–२ का महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियन्स रहेका छन् ।

गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् । चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम गाडीबाट हामफालेर बाँच्न सफल भएकी हुन् ।

प्रहरीका अनुसार काठडमाडौँबाट चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भएर शनिबार दिउँसो १ बजेर ५५ मिनेटको समयमा दुर्घटना भएको हो । गाडी सडकबाट पाँच सय मिटर तल खसेको थियो।