हेटौंडा – सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वरबाट मकवानपुर हेडौंडा उपमहानगरपालिका–१७ का ४१ वर्षीय गोपी बजगाईलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बजगाईले सामाजिक संजाल फेसबुक तथा व्याटसएपमा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजान ११ लाख रुपैयाँ लाग्छ भन्दै पीडित व्यक्तिहरुको सक्कल राहदानी, नागरिकता, सम्पत्ति बिवरण कागज लिएर झुक्याई पीडितको नागरिकताबाट सिमकार्ड निकालेका थिए ।
उनले सिमकार्ड निकालेर बैंक खाता आफ्नो पहुँच राखी मोवाइल बैकिङ्ग सेवा बनाएर खातामा रहेको रकम निकालेर ठगी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।