हेटौंडा – मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. २ भैंसे चेकपोष्टबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कारमा सवार हेटौंडा–१४ बस्ने ३१ वर्षीय राम बहादुर गोले, सोही स्थान बस्ने ३८ वर्षीय सुकराम लोप्चन र ४० वर्षीय बिर बहादुर मोक्तान रहेका छन् ।
प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार हेटौंडा बजारतर्फ आउँदै गरेको बा १२ च ५६४९ नम्बरको कारलाई चेकजाँच गर्दा कारमा सवार तीन जनालाई ७ किलो ९०० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार कारको पछाडी डिक्कीभित्र फल्स बटम बनाएर लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध गाँजा फेला परेको हो । उक्त लागूऔषध र कार सहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।