हेटौंडा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयमा एक हजार ७८४ उजुरी परेको छ । जसमा चालु आवको गत कात्तिक मसान्तसम्म ९०४ र गत आर्थिक वर्षको सरेर आएको ८८० उजुरी छन् ।
उजुरीमध्ये सबैभन्दा बढी राजस्व हिनामिनाका उजुरी रहेको छ । राजस्व हिनामिनाका ६७५ उजुरी रहेकोमा गत कात्तिक मसान्तसम्म १५३ वटा उजुरी फस्र्योट भएका छन् ।
गैरकानुनी लाभहानीका ४२४ उजुरीमध्ये १०९ वटा, सार्वजनिक खरिद निर्माणका ३३२ उजुरीमध्ये ७८ वटा, विविध २२१ उजुरीमध्ये ९६ वटा र भूमिसम्बन्धी ९१ उजुरीमा २६ वटा उजुरी फस्र्योट भएको छ ।
गैरकानुनी सम्पत्तिसम्बन्धी २० वटा उजुरीमा १४ वटा, शैक्षिक प्रमाणपत्रसम्बन्धी १६ वटा उजुरीमा नौ वटा, घुससम्बन्धी पाँच वटा उजुरीमा तीन वटा उजुरी फस्र्योट भएको अख्तियारको हेटौँडा कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए ।
कार्यालयमा सार्वजनिक जग्गा न्यून मूल्यमा लिज तथा भाडामा दिने, दिवा खाजा, छात्रवृत्तिलगायतका अन्य अनुदानको सही सदुपोयग नगरेको, खरिद प्रव्रिmया, खरिद कार्यको तयारी र योजनाबिना बजेट विनियोजन, ठेक्का सम्झौता गर्ने गरेको, कानुनविपरीत कर्मचारी भर्ना गर्ने गरेको भन्दै उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।
मधेश प्रदेशका बारा, पर्सा र रौतहट तथा बागमती प्रदेशका आठ जिल्लासहित ११ वटा जिल्ला कार्यक्षेत्र रहेको आयोगको हेटौंडा कार्यालयमा रामेछाप जिल्लाको समेत उजुरी दर्ता भएको छ ।
कात्तिक मसान्तसम्ममा गत आवको १७८ र चालु आवमा दर्ता भएको ३१० गरी गत कात्तिक मसान्तसम्ममा ४८८ वटा उजुरी दर्ता भएको छ । जिल्ला गत रूपमा आयोगको हेटौंडा कार्यालयमा सबैभन्दा बढी बारा जिल्लाको ५०८, रौतहटको ४०२, पर्साको ३५८, मकवानपुरको ३२० र चितवनका १४२ वटा उजुरी दर्ता भएको पाइएको छ ।
यस्तै धादिङ जिल्लाको १५, दोलखा, नुवाकोट र काभ्रपलाञ्चोकको नौ÷नौ वटा, सिन्धुपाल्चोकको पाँच वटा, रामेछापको चार वटा र रसुवा जिल्लाको तीन उजुरी आयोगको हेटौंडा कार्यालयमा परेको छ । दर्ता भएको उजुरीमध्ये बारा जिल्लाको १३८, रौतहटको ८९, पर्साको १०५, मकवानपुरको ८६ र चितवनका ५२ वटा उजुरी गत कात्तिक मसान्तसम्ममा फस्र्योट भएको छ ।
यस्तै धादिङ र दोलखा जिल्लाको तीन/तीन, नुवाकोट चार, काभ्रपलाञ्चोकको पाँच, रामेछापको एक र रसुवा जिल्लाको दुई वटा उजुरी फस्र्योट भएको र सिन्धुपाल्चोकको गत कात्तिक मसान्तसम्ममा उजुरी फस्र्योट सङ्ख्या शून्य रहेको छ । गोरखापत्र दैनिकबाट