प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

उपाधि जित्दै मकवानपुर महिला फुटबल टोलीले रच्यो इतिहास

२०७८ चैत्र १२, शनिबार ०५:३४ बजे

हेटौंडा – प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलतर्फको उपाधि जित्दै मकवानपुरले इतिहास रचेको छ ।

काभ्रेस्थित धुलिखेल खेलमैदानमा भएको फालइन खेलमा धादिङलाई १–० गोलले पराजित गर्दै मकवानपुरले महिला फुटबल तर्फ पहिलो उपाधि जित्दै इतिहास रचेको हो ।

निकै प्रतिस्पर्धात्मक फाइनल खेलका पहिलो हाफ र दोस्रोमा दुबै टोली गोल गर्न सकेनन् । दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै मकवानपुरले पहिलो उपाधि जितेको हो ।

मकवानपुरका लागि सञ्जिता बोम्जन ९साम्भा० ले गोल गरिन । उनले खेलको इन्जुरी समयमा गरेको गोल उपाधि जित्न निर्णयक बन्यो ।

मकवानपुरलाई उपाधि दिलाउन निर्णयक गोल गरेकी सञ्जिता म्यानअफ द म्याच घोषित भइन् । उनले अघिको पहिलो खेलमा दुई र दोस्रो खेलमा एक गोल गरेकी थिइन् ।

प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत मकवानपुरले महिला फुटबलतर्फ उपाधि जितेपछि मकवानपुर फुटबल संघका अध्यक्ष टिकाराम लामाले भने, “मकवानपुरले महिला फुटबलमा उपाधि जितेको पहिलो पटक हो । यसअघि धेरै प्रतियोगितामा सहभागिता जनाए पनि उपाधि जित्न सकेको थिएन ।”

प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत यसअघि हेटौंडामा सम्पन्न पुरुष फुटबलतर्फ ललितपुरलाई ट्राइब्रेकरमा पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै आजै प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको समापन हुँदैछ । सोही कार्यक्रममा उपाधि विजेता मकवानपुरे टोलीलाई पुरस्कार वितरण गरिनेछ ।