प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

समाजवादीबाट इतिहास रच्दै पहिलो उपमहानगर प्रमुखमा महिला

२०७९ जेठ ७, शनिबार ०१:४५ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेको ३० बर्षको लामो विरासत तोडिएको छ । गठबन्धनकी साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा हेटौंडाको मेयरमा निर्वाचित भएर इतिहास रचेसंगै एमालेको ३० बर्षको लामो विरासत तोडिएको हो । २०४९ देखि २०७४ सालसम्मको स्थानीय तहको निर्वाचनमा एमालेले जितेको थियो ।

लामाले एमालेको विरासत मात्रै तोडिनन् । उनी हेटौंडा उपमहानगरमा निर्वाचित हुने पहिलो महिला नेतृ पनि हुन् । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट उपमहानगरको प्रमुखको रुपमा निर्वाचित हुने पहिलो महिला नेतृ पनि हुन सफल भएकी छन् ।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको गृहनगर पनि हेटौंडा हो । नेकपा एसकी लामा नगरप्रमुख निर्वाचित हुँदा एमाले र पुर्वमुख्यमन्त्री पौडेललाई गृहनगरमा धक्का लागेको छ भने एमालेका सुभचिन्तकहरु निराश भएका छन् ।

एमालेलाई हराउन कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको गठबन्धनसँगै अन्य दलको समेत मिनाले साथ पाएकी थिइन् ।

यता एमाले विगत ३० वर्षको विरासत जोगाउन सकेन । आफ्नो विरासत कायम राख्न मेयरमा एमालेले ‘हेभिवेट’ नेता अनन्त पौडेललाई मैदानमा उतारेको थियो । उनी संविधानसभा सदस्य समेत हुन् ।

निर्वाचन अधिकृत कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार लामाले एमालेको गढ भत्काउँदै २ हजार १७२ मतान्तरले विजयी भइन् । मीना लामाले २३ हजार ७५ मत पाउँदा एमालेका उम्मेदवार अनन्त पौडेलले २० हजार ९०८ मत पाए । पौडेल एमालेका प्रदेश कमिटी अध्यक्ष पनि हुन् ।

उमेदवारी दर्ता गर्ने दिनमा हेटौंडा आएका राप्रपाका मेयरका उम्मेदवार दीपकबहादुर सिंहले २० हजार ५३१ मत ल्याउन सफल भए । सिंह केही बर्षदेखि हेटौंडा बाहिर बसोबास गरिरहेका थिए ।

को हुन् मिना लामा ?
पाँच दलीय गठबन्धनबाट हेटौंडा उपमहानगरपालिको मेयर पदकी उम्मेदवार मीना लामा २०३३ साल पुस २७ गते हेटौंडा–११ नवलपुरमा जन्मिएकी हुन । मीना शुक्रवीर लामा र सीतादेवी लामाको जेठी छोरी हुन् । उनको राजनीतिक यात्रा २०४६ सालबाट सुरु भएको हो ।

मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमएसम्मको अध्ययन पूरा गरी उनले हरिखेतान बहुमुखी क्याम्पस वीरगंजबाट एलएलबी अध्ययन गरिन् । उनको राजनीतिक यात्रा अनेरास्ववियुबाट भएको थियो ।

२०५२ सालमा उनले अनेरास्ववियु मकवानपुरको कोषाध्यक्षको जिम्मेवारी पाएकी थिइन् । २०७१ सालमा एमाले मकवानपुरको उपसचिव र विद्यार्थी इन्चार्जको जिम्मेवारी पाइन् । २०७१ सालमै अखिल नेपाल महिला संघको जिल्ला सचिव पनि भएकी थिइन् ।

महिला बालबालिकाको क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्थामा १० वर्ष काम गरेकी मीना २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य भइन् । लामा २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखको पराकिलो मतान्तरले विजयी हासिल गरेकी थिइन् ।

२०७५ मा एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाको जिल्ला उपसचिव भएकी लामा सर्वोच्च अदालतले एमाले ब्युताएपछि फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) मकवानपुरको उपाध्यक्षको रुपमा राजनीतिक कर्ममा छिन् ।