प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरगढी गाउँपालिकाको बजेट साँढे ५ करोड घट्यो

२०८० असार १०, आईतबार १४:५९ बजे

हेटोंडा – मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ६२ करोड २ लाख ५६ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभामा पालिका उपाध्यक्ष मानकुमारी नेपाली (पाख्रीन)ले वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।

मकवानपुरगढी गाउँपालिकाको बजेट प्रत्येक बर्ष घट्दै गएको छ ।  प्रस्तुत बजेट चालुआर्थिक बर्षको भन्दा ५ करोड ४२ लाख कम बजेट हो । पालिकाले चालुआर्थिक बर्षमा ६७ करोड ४४ लाखको बजेट ल्याएको थियो ।  

प्रस्तुत बजेटको पुजीँगततर्फ ३२ करोड १९ लाख १२ हजार ८६४ र चालुतर्फ २९ करोड ८३ लाख ४३ हजार १३६ रहेको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ८ करोड रकम विनियोजन गरिएको छ । आर्थिक विकास तर्फ ३ करोड ४८ लाख, पूर्वाधार विकासतर्फ २४ करोड ९६ लाख ५६ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ४८ लाख, सामाजिक विकासतर्फ २४ करोड ३५ लाख र वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा ७५ लाख बजेट छुट्याइएको छ ।

आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट १८ करोड ५ लाख ७८ हजार, सरकार वित्तीय समानिकरण अनुदान ९ करोड ७४ लाख, प्रदेश सरकार वित्तीय मानिकरण अनुदान ८६ लाख र वित्तीय समानिकरण अनुदानमा १० करोड ६० लाख उल्लेख गरिएको छ।

त्यस्तै संघीय सरकार शशर्त अनुदानमा २३ करोड ९ लाख, प्रदेश सरकारबाट २ करोड २२ लाख ७८ हजार, संघीय सरकार समपूरक अनुदान ८० लाख, प्रदेश सरकारको २ करोड ५० लाख गरी ३ करोड ३० लाख र संघीय सरकारबाट विशेष अनुदानमा २ करोड ७५ लाख र प्रदेशबाट १ करोड रकम प्राप्त हुने अनुमान गरिएको छ ।