काठमाडौं – नेपालले केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३– २ ले जितेको हो ।
नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो । केन्याका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७, इरफान करिमले २८, कोलिन्स ओबुयाले २३, कप्तान शेम एन्गोचेले अविजित ३३ र ओधियाम्बो १३ रनमा अविजित रहे ।
नेपालका सन्दीप लामिछाने र वसिर अहमदले २–२ विकेट लिए । करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ खेले । यस्तै रोहित पौडेलले ४७ रन, अर्जुन साउद २९, दीपेन्द्र सिंह ऐरी २२, आदिल आलमले ४ र पवन सरार्फले १ रन बनाए । विवेक यादबले २ बलमा २ रन बनाए तथा करण केसीले २ बलमा २ रनका साथ अविजित रहे ।
केन्याका शेम एन्गोचे, भिराज पटेल र नेहेम्याह ओधियाम्बोले २–२ विकेट लिदा लुकास ओलुओचले १ विकेट लिए ।
अब नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्ने छ ।पहिलो एकदिवसीय खेल शुक्रबार, दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार हुनेछ ।