प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

अदालतले ३० वर्ष कैद सजाय तोकेपछि बुढाक्षेत्री शौचालयबाटै टाप, सात बर्षपछि पक्राउ

२०७९ कार्तिक २२, मंगलबार ०६:५९ बजे

हेटौंडा – अदालतले ३० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–८ बस्ने २४ वर्षीय टोपे भन्ने अजिव बुढाक्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालतले २०७३ पुस २४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ११ महिना ६ दिन कैद र थुनुवा भगाएको मुद्दा समेतमा गरी जम्मा ३० वर्ष कैद सजाय ठहर भई फरार थिए।

ठाकुरबाबा नगरपालिका–८ बस्ने ६९ वर्षीय जोरा सिंह भन्ने जोरे थापा आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा २०७२ फागुन ५ गते राति अजिवले घरायसी रिसिईबीका कारण धारिलो हतियार दाउ प्रहार गरी हत्या गरी फरार थिए।

उनलाई फैसला कार्यान्वयनको लागि २०७२ फागुन ३० गते बर्दिया जिल्ला अदालतमा उपस्थित गराएकोमा बयानपछि शौचालय जान्छु भन्ने बहाना गरी शौचालयको भ्यान्टिलेसनबाट निस्की फरार भएका थिए।

पक्राउपछि उनलाई बर्दिया जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ।