प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती गोल्डकपको पाँचौँ संस्करणसम्म आईपुग्दा खेलाडी उत्पादन शुन्य, आयोजक टिमलाई खेलाडी जुटाउनै सकस

२०७९ पौष १७, आईतबार १५:३५ बजे

हेटौंडा – देशभर जति खेलकुद प्रतियोगिताहरु आयोजना गरिन्छ, त्यसको उदेश्य ‘खेल क्षेत्रको विकास, खेलाडीको स्तरवृद्धि, खेलाडीलाई प्रोत्साहन’ गर्ने हुन्छ । मोफसलमा भएको प्रतियोगिताको उदेश्य ‘राष्ट्रियस्तरका खेलाडी उत्पादन र स्थानीय खेलाडीहरुको प्रोत्साहन गर्ने’ कतै छुटेको हुँदैन ।

माथि उल्लेखित यस्तै उदेश्य लिएर ५ बर्षअघि (विं.सं.२०७४ मा) मकवानपुरको बामगती गाउँपालिकाले सुरु गरेको थियो, ‘बागमती गोल्डकप फुटबल प्रतियोगिता’ । पुष २४ बाट माघ ३ गतेसम्म ‘बागमती गोल्डकप’ को पाँचौ संस्करण सुरु हुँदैछ ।  एकदेखि पाँचौँ संस्करणसम्म आईपुग्दा कुन–कुन उदेश्यको प्रगति कति भयो ? बाँच्ने आधार खोज्दै बिदेशिएका फुटबलरहरुबाट प्रष्ट होला ।

बिडम्बना नै भन्नुपर्छ, प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा ब्यावसायिक रुपमा फुटबल खेल्ने कति खेलाडी उत्पादन भए ? उत्पादन भएका खेलाडी कहाँ, कहाँबाट फुटबल खेल्दैछन् ? के–के गर्दैछन् ? आयोजक बागमती खेलकुद विकास समितिका अध्यक्ष टीकालाल श्रेष्ठसँग चित्तबुझ्दो जवाफ छैन । 

पहिलो संस्करणदेखि नै आयोजक टोलीले प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । खेल प्रदर्शनको स्तर खस्किँदो छ । चित्तबुझ्दो छैन । पहिलो संस्करणमा प्रतियोगिताको सेमिफाइनल चरणसम्म पुगेको आयोजक बागमती गाउँपालिका दोस्रो, तेस्रोमा क्वाटरफाइनल र चौथोमा पहिलो चरणमै पराजित भएको थियो ।

खेलाडी जुटाउन आयोजकलाई सकस 

वितेको चार संस्करणमा स्थानीय खेलाडी मैदानमा उत्रार्दै आएको आयोजकलाई यस पटक बलियो टोलीविरुद्ध खेल्न सक्ने खेलाडी जुटाउन सकस परेको छ । आयोजक टोलीका उज्ज्वल पाख्रिनका अनुसार प्रशिक्षणमा १४/१५ जना खेलाडी सहभागी छन् । बालियो टोलीविरुद्ध खेल्न सक्ने ४/५ जना मात्रै खेलाडी रहेको उनले बताए ।

‘पहिलेको सेट राम्रो थियो, त्यो सेटका केही खेलाडी विदेश गए, अहिलेको सेटमा बी र सी डिभिजन लिग खेलेका ४/५ जना मात्रै छन्,’ पाख्रिनले भने । उनले खेलाडी प्रशिक्षण अवधि कम भएको बताए ।

‘प्रतियोगितामा सहभागी गराउँन ६/७ महिना प्रशिक्षण गराउन पाएको भए, स्थानीय खेलाडीले नै राष्ट्रियस्तरका क्लबविरुद्ध प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्न सक्थे,’ उनले भने,‘ ए डिभिजनका राम्रो खेलाडी नल्याएसम्म, अब त्यो सम्भावना छैन ।’ खेलाडी ल्याउने, नल्याउने विषयमा आयोजकका पदाधिकारीबीच छलफल भइरहेको पनि उनले बताए ।

प्रतियोगितामा ए डिभिजन टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र युवा क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युथ क्लब र जावलाखेल युथ क्लब सहभागी रहनेछन् । त्यस्तै घरेलु टोली आयोजक बागमती गाउँपालिका, मकवानपुर–११ र अमेरिकी टिम, भुट्नीज युथ स्पोर्ट्सको सहभागी रहनेछ ।

प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँ नगद पाउनेछन् । प्रतियोगिता आयोजना गर्दा ७१ लाख खर्च हुने आयोजकको अनुमान छ ।

बार्षिक एक करोड भन्दा बढी लगानी
फुटबल खेल र खेलाडीको विकासका लागि गाउँपालिका अध्यक्ष सर्केश घलानको दाबी गलत नभए, ‘विं.सं.२०७४ मा स्थानीय सरकार आएपछि आफ्नै लगानीमा राष्ट्रियस्तरको प्रतियोगिता गरेको छ भने त्यो बागमती गाउँपालिका हो ।’

राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्न ठुलो रकम लाग्छ । बागमती गोल्डकप आयोजना गर्न गाउँपालिकाले पहिलो संस्करणमा १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । उक्त रकम बार्षिक रुपमा वृद्धि गर्दै २० लाखबाट ३० लाख हुँदै यस पटक ३५ लाख रुपैयाँ लगानी गरिएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाको स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपछि बागमती गाउँपालिका खेलकुदमा धेरै बजेट खर्च गर्ने गर्दछ । पालिकाले खेलकुद प्रतियोगितामा लगानी गरेको अध्यक्ष घलानकै शब्दमा ‘बार्षिक एक करोड हुन आउँछ, भौतिक संरचनाको पनि जोड्ने हो भने बढी नै हुन्छ ।’ तर, उनले पुरुष फुटबलमा सोचे अनुरुप प्रगति नभएको स्वीकारे ।

‘मकवानपुरको महिला फुटबल टोलीमा अधिकांश खेलाडी बागमती गाउँपालिकाकै छन्, यसलाई खेलाडी उत्पादन नभएको भन्न मिल्दैन,’ उनले भने, ‘अन्य देशको जस्तो हाम्रो देशमा पर्याप्त लगानी पनि छैन, यसबारेमा हामी छलफल गरेर अघि बढ्छौँ ।’

‘प्रशिक्षणसंगै प्रतियोगिता आवश्यक’
स्थानीय स्तरबाट राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न जिल्ला स्तरीय प्रतियोगिताहरु धेरै हुनुपर्ने पुर्वखेलाडी तथा प्रशिक्षक सुविन घिमिरे बताउँछन् ।उनले राम्रो प्रशिक्षणको वातावरण छैन भने राष्ट्रिय/अन्तराष्ट्रिय खेलाडी ल्याएर बर्षको एउटा प्रतियोगिता गरेर मात्रै खेलाडीको क्षमता विकास नहुने बताए ।

‘प्रतियोगिता खेलाडीको प्ल्याटफम हो, खेलाडीले अभ्यास गर्न नपाए, कसरी राम्रो खेल प्रदर्शन गर्न सक्छ ?,’ उनले भने,‘प्रशिक्षणले खेलाडी खेल क्षमता वृद्धि गर्छ, प्रतियोगिताले खेलाडीको आयस्तरमा, त्यसैले अभ्यास र प्रतियोगिता नियमित हुनुपर्छ ।’ 

बागमती गोल्डकप प्रतिनिधि पात्र मात्रै हो । नेपाली फुटबलको स्तरवृद्धि गर्न देशभर सयौँको सङ्ख्यामा प्रतियोगिताहरु हुने गरेको छ । ती मध्ये प्रतियोगितासँगै खेलाडीको स्तरवृद्धिमा ध्यान दिने आयोजक निकै कम रहेको छ ।

त्यस्तै मकवानपुरमा १० वटा पालिकासँग बजेट संकलन गरेर ठुला प्रतियोगिता गर्ने योजना बन्छ, कार्यान्वयन हुन्छ । ‘हात्ती आयो, हात्ती आयो फुस्स’ भने जस्तै, खेलाडी उत्पादन गर्न एकेडेमी सञ्चालन र जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्ने योजना बन्छ, तर कार्यान्वयन हुँदैन ।