हेटौंडा – मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविमा एकै दिन दुईवटा सडक नाटक मञ्चन भएको छ । बालबालिकाले बढी रुचाउने जंकफुट बिरुद्ध जनचेतना जागृत गराउने र सामाजिक संजालको झुठो आश्वासनमा परेर हुने बेचबिखनसम्बन्धी सडक नाटक मञ्चन गरिएको हो ।
दुबै सडकनाटक बालक्लवका विद्यार्थीले नै लेखन, निर्देशन गरेका थिए । अनौपचारिक क्षेत्र सेवाकेन्द्र (ईन्सेक) बागमती प्रदेशको सहयोगमा जंकफुड बिरुद्ध जनचेतना जगाउने सडक नाटक मञ्चन गरिएको हो । पशुपति बालअधिकार सचेतना समूहका अध्यक्ष अञ्जीना गिरीको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, सप्रअ सुशील गौतम, बालक्लवका संरक्षक शिक्षक ईश्वर रिजाल, शिक्षक रामचन्द्र तिमल्सिना, विद्यालय नर्स बबिता ठाकुर, ईन्सेक प्रतिनिधि सलिना गौतमलगायतको सहभागिता रहेको थियो । जंकफुडले बालबालिकाको स्वास्थ्यमा पार्नसक्ने असरका बारेमा कलाकार विद्यार्थीले कलात्मक प्रस्तुती गरेका थिए ।
यसैगरी मनहरी गाउँपालिका अन्तरगत बालक्लव संजाल मनहरी–३ ले पनि पशुपतिनाथ माविमा मंगलबार सडक नाटक प्रदर्शन गरेको थियो । बालक्लब सहजकर्ता लिला तामाङको संयोजनमा बालकलाकारले सामाजिक संजालका कारण हुने गरेका मानवबेचबिखनसम्बन्धी सडक नाटक प्रदर्शन गरेका हुन् ।