हेटौंडा – मकवानपुर घरजग्गा व्यवसायी संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । हेटौंडा उपमहानगरपालिकाले जग्गा वर्गीकरणको निर्णय कार्यन्वयन गर्ने सम्वन्धमा आलटाल गरेको भन्दै संघले आन्दोलन घोषणा गरेको हो ।
मंगलबार दिउँसो हेटौंडा उपमहानगरको प्राङ्गणमा धर्ना दिंदै आन्दोलन संघका अध्यक्ष ध्रुब घिमिरेले आन्दोलनको कार्यक्रम घोषणा गरेको हुन् । आन्दोनको कार्यक्रम घोषणा पश्चात हेटौंडा उपमहानगरपालिकालाई ध्यानार्कषण पत्र समेत बुझाएको छ ।
कात्तिक २३ गते हेटौंडा उपमहानगरपालिकामा धर्ना तथा प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने, २४ गते उपमहानगरपालिकाको कार्यालयको मुख्य गेटमा तालाबन्दी गर्ने, २५ गते नगर प्रमुख तथा उपप्रमुखको कार्यकक्षमा तालाबन्दी र २७ गते हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण सेवा ठप्प पार्ने कार्यक्रम तय गरिएको घरजग्गा व्यवसायी संघ मकवानपुरका अध्यक्ष घ्रुब घिमिरेले जानकारी दिए ।
यसअघि अध्यक्ष घिमिरेसहितको टोली मेयर मिना कुमारी लामालाई उपमहानगरभित्रका जग्गा बर्गिकरण कार्यन्वयनका गर्न माग राख्दा उनले ‘चुनाव अगाडी म गर्दिन, धम्क्याउन आएको हो, के लोपार्छस् लोपार’ भन्दै अभद्र ब्यवहार गरेको विज्ञप्ति सार्वजनिक गरेको थियो । उता मेयर लामाले आफुले उनिहरुमाथि कुनै किसिमको अपशब्द र अभद्र ब्यवहार नगरेको बताएकी थिइन् ।
सरकारले देशभरको ७५३ वटै स्थानीय तहमा जग्गा बर्गिकरण गरेर मात्रै विक्री बितरण गर्न पत्राचार गरेको थियो । यसकारण सर्वसाधारणले आफुसंग भएको मध्ये केही अंश जग्गा विक्री गर्न समेत पाएका छैनन । त्यसको अवधि आगामी मंसिर २१ गतेसम्म रहेको बताउँदै मेयर लामाले निर्वाचन सकिएपछि घरजग्गा बर्गिकरण काम गरिने बताएकी छिन् ।