हेटौंडा – चितवनमा भएको ‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ । बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनल खेलमा नवलपुरलाई १७४ रनको फराकिलो अन्तरले पराजित गर्दै मकवानपुरले उपाधि जितेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको मकवानपुरले ४० ओभरमा सबै विकेट गुमाउँदै २२५ रन बनाएको थियो । मकवानपुरका लागि विशाल फुयाँलले ६९, सुव कशंकारले ४३, आकाश घिमिरेले २४ र गौरव खड्काले २० रन बनाए ।
नवलपुरका लागि कमल परियारले ६ विकेट, विशाल पौडेल, अप्रजित पौडेल, रिजन काफ्ले र प्रशान्त आचार्यले एक–एक विकेट लिए ।
जवाफि ब्याटिङमा उत्रिएको नवलपुर १६.४ ओभरमा ५१ रनमै अलआउट भयो । सुभम खरेलले १३ र दिपक डुम्रेले ११ रन बनाए भने अन्य व्याटरले दोहोरो अंक छुन सकेनन् । नवलपुरलाई सस्तैमा समेट्न मकवानपुरका रिजन ढकालले ७, रामनरेश गिरी र विपुल खनालले एक–एक विकेट लिए ।
उपाधिसंगै मकवानपुरले ५० हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको नवलपुरले २० हजार र मेडल प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मकवानपुरका रिजन ढकाल, मकवानपुरकै सुव कंशकार उत्कृष्ट व्याटर र नवलपुरका कमल परियार उत्कृष्ट बलर घोषित भए । उनीहरु दुवैले नगद र ट्रफी प्राप्त गरे ।
नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा भएको एकदिवसीय प्रतियोगितामा मकवानपुर, चितवन र नवलपुरको सहभागिता रहेको थियो ।