हेटौंडा – बागमती प्रदेशको प्रदेश सभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ । प्रदेश सभामुखका लागि नेपाली कांग्रेसबाट शिवराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुवन थापा र नेपाल मजदुर किसान पार्टीका सिर्जना सायजुको बिहीबार मनोनयन दर्ता भएको प्रदेश संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रदेश सभाका प्रदेश सभामुखको निर्वाचन प्रक्रिया शुक्रबार बिहान ११ बजे गर्ने गरी निर्वाचन तालिका तय भएको छ । प्रदेश सभामुखका लागि तीन जनाको उम्मेदवारी मनोनयन दर्ता भएकाले दस्तखतसहितको मत विभाजनबाट निर्वाचन गर्न लागिएको सचिवालयले जनाएको छ ।
सर्वदलीय बैठकमा प्रदेश सभाका उपसभामुखको निर्वाचन कांग्रेस र नेकपा (एमाले) ले छलफल गरी मिति टुङ्गो लगाउने सहमति भएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।
एक सय १० जना सांसद रहेको बागमती प्रदेशका मुख्यमन्त्रीलाई ७० जना सांसदहरुले समर्थन गरेका थिए । बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सदस्यहरु रहेका छन् ।