प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा-१२ उपनिर्वाचन: शान्तिपूर्ण मतदान, ६८.९ प्रतिशत सहभागिता, मतगणना आजै हुने

२०८१ मंसिर १६, आईतबार २०:२७ बजे

हेटौँडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा आज शान्तिपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार तीन तहको सुरक्षा व्यवस्थाका बीच मतदान कार्य कुनै अप्रिय घटना बिना सम्पन्न भएको छ।

आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा कुल ८ हजार ५६ मतदातामध्ये ५ हजार ४८४ मतदाताले आफ्नो मताधिकार प्रयोग गरे। यसले ६८.९ प्रतिशतको मतदान दर देखाएको छ।

मतदान केन्द्रको विवरण
२ वटा मतदान स्थलअन्तर्गत रहेका ९ मतदान केन्द्रमा मत खसेको हो।

प्रतिभा आधारभूत विद्यालयका ५ मतदान केन्द्रमा कुल ३ हजार १० मत खसेका छन्।
महिला: १ हजार ६३७
पुरुष: १ हजार ३७२
विष्णुज्योती आधारभूत विद्यालयका ४ मतदान केन्द्रमा २ हजार ४७४ मत खसेका छन्।
महिला: १ हजार ३०९
पुरुष: १ हजार १६५
उम्मेदवारहरूको प्रतिस्पर्धा
वडा अध्यक्ष पदका लागि १२ जना उम्मेदवार चुनावी मैदानमा छन्।
प्रमुख दलका उम्मेदवारहरू:

नेपाली कांग्रेस: अर्जुनप्रसाद तिवारी
नेकपा एमाले: राजेश नगरकोटी
माओवादी केन्द्र: रविकुमार प्रधान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): आशावीर बल
राप्रपा: प्रेमबहादुर भोलन
जसपा: छविलाल वाइबा
अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारहरू:

मंगोल नेशनल अर्गनाइजेशन: दीपा लामा
नेमकिपा: फूलमाया तितुङ
एकीकृत समाजवादी: बलराम बल
स्वतन्त्र: अर्जुन घलान, गीताकुमारी नेवार, छत्रप्रकाश अधिकारी

मतदानमा उच्च उत्साह
स्थानीयहरूमा उपनिर्वाचनप्रति उच्च उत्साह देखिएको थियो। महिला मतदाताको संख्या २ हजार ९४६ रहेको छ भने पुरुष मतदाता २ हजार ५३७ जना छन्। 

मतगणनाका लागि लागि सिद्धार्थ माविमा मतपेटिका ल्याइएको छ। मतगणना सम्बन्धमा छलफलका लागि बसेको सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु भएको बताईएको छ ।

प्राप्त जानकारी अनुसार  सर्वदलीय बैठकले राती ९ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय गरेको छ। 

मतगणना र परिणाम घोषणाको प्रतिक्षामा सबै दलका कार्यकर्ता र समर्थकहरू उत्साहित देखिएका छन्।