हेटौंडा – मकवानपुरको दश वटा स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । जिल्लाको एक उपमहानगरपालिका, एक नगरपालिका र आठ गाउँपालिका साथै १ सय २ वटा वडामा जनप्रतिनिधि चुन्न मतदान सुरु भएको हो ।१ सय ६५ मतदानस्थल रहेको मकवानपुरको ३ सय ५६ मतदान केन्द्रबाट मतदान शुरु भएको निर्वाचन कार्यालय मकवानुरले जनाएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन ।
त्यस्तै मतदानका लागि जिल्लाका दश वटै स्थानीय तहमा सुरक्षा व्यवस्थालाई कडा पारिएको र भौगोलीक स्थान अनुसार सुरक्षाकर्मी परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । उनले सबै मतदान केन्द्रमा ढुक्क भएर मतदान गर्न आग्रह समेत गरेका छन् । जिल्लामा स्थानीय तह चुनावका लागि ३ हजार २ सय सुरक्षाकर्मी परिचालन भएका छन् ।
जिल्लाको १० पालिकाका ५ सय ३० पदका लागि विभिन्न दलका र स्वतन्त्र गरेर १ हजार ९ सय ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् । मेयरमा २४, अध्यक्षमा ५०, उपमेयरमा १२, उपाध्यक्षमा ३२, वडाअध्यक्षमा ४३५, खुल्ला वडासदस्यमा ७२८, महिला वडासदस्यमा ३ सय ५० र दलित महिला वडासदस्यमा ३०० जना उम्मेदवार रहेका छन् । दुई लाख ९४ हजार ९१९ मतदाताले मतदान प्रक्रियामा सहभागि छन् ।
जिल्लाको १० पालिकाका ५ सय ३० पदका लागि विभिन्न दलका र स्वतन्त्र गरेर १ हजार ९ सय ३१ जना उम्मेदवार भएका छन् । बैशाख ११ र १२ गते २ हजार ६७ जनाले मनोनयन दर्ता गरेका थिए । जसमध्ये १ सय ३६ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । ६ जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचित भएका छन् ।जिल्लामा कुल दुई लाख ९४ हजार ९१९ मतदाता रहेका छन ।